काठमाडौं – नेपाली चलचित्र उद्योगले एउटा ऐतिहासिक क्षणको अनुभव गरेको छ । नेपालमा मात्र ५० करोड भन्दा धेरै र डायस्पोरासमेत जोड्दा ७५ करोड माथिको ग्रस व्यापार गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शनको सय दिन पूरा गरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो सफलताले नेपाली चलचित्रको बजारको सम्भावनालाई व्यापक बनाएको छ ।
गत कार्तिक १५ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले दर्शकको मन जित्न सफल भई नेपाली चलचित्रको इतिहासमा एउटा नयाँ अध्यायको सुरुवात गरेको छ । सर्व कालिन ब्लकबस्टर मानिएको यस चलचित्रले देशव्यापी रहेका १० वटा हलमा सय दिन पुरा गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । यो क्यूएफएक्स चेनको सिटी स्क्वायर (सामाखुसी, काठमाडौं) र राइजिङ मल (दरबारमार्ग, काठमाडौं), रञ्जना सिनेप्लेक्स (न्यूरोड, काठमाडौं), फ्रेन्ड्स सिनेमाज (धरान), शुभकामना सिनेमा (बनेपा), फ्रेन्ड्स सिनेमाज (बुटवलसहित)का हलमा चलिरहेको छ ।
यस अवसरमा यसका निर्माताले दर्शकलाई विशेष अफर दिएका छन् । अबदेखि माघ २७ गतेसम्म चलचित्रमा हलमा दर्शकले मात्र १ सय रुपैयाँमा यो चलचित्र हेर्न पाउनेछन् ।
सेभेन सिज इन्टरटेन्मेन्ट र बाँसुरी फिल्म्सको निर्माणमा सरोज पौडेलले निर्देशन गरेको यस चलचित्रबाट अभिनेता विजय बरालले व्यापक प्रशंसा प्राप्त गरेका छन् । यो सफलतासँगै बराल निर्माताको पहिलो रोजाइमा पर्न थालेका छन् । यसको सफलताबाट उत्साहित निर्माता विनोद पौडेलले यस चलचित्रको सफलता साट्दै ‘पूर्ण बहादुरको सारङ्गी २’ र ‘रोल नम्बर १’ निर्माण गर्ने घोषणा गरिसकेका छन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ले बाबुछोराको मार्मिक सम्बन्धलाई पर्दामा उतारेको छ । विजय बराल, अञ्जना बराइली, प्रकाश सपुत, मुकुन भुसाल, बुद्धि तामाङ, बाल कलाकार स्वयं केसी लगायतको अभिनय रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखन महेश दवाडीले गरेका हुन् ।
पछिल्लो पटक ‘जारी,’ ‘दिमाग खराब,’ ‘शत्रु गते,’ ‘छक्का पन्जा’ लगायतले सय दिन मनाएका थिए ।