आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘भाईरल गोर्खे’ को टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक भएको २ मिनेट ८ सेकेन्ड लामो टिजरले सिनेमाको कथावस्तुको बारेमा केही प्रकाश पारेको छ।
नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा, भाईरल हुनका लागि जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको छ। भाईरलका पछाडि लाग्दा आउने प्रभाव र असरको परिणाम सिनेमाको टिजरमा देखाइएको छ।
सिनेमाको टिजरमा गोपाल पाँडे पात्रको भाईरल हुनका लागि गरेका विभिन्न हर्कत र भाईरल भइसकेपछि लाइभ गरेर फ्यानसँग साक्षात्कार गर्ने दृश्यहरूले दर्शकको मन जित्ने देखिन्छ। साथै, पत्रकार ऋषि धमालसँगको अन्तर्वार्ताले टिजरलाई थप आकर्षक बनाएको छ।
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुल को व्यानरमा निर्माण भएको सिनेमामा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, र ऋषि धमालको अभिनय रहेको छ। विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माताहरू हुन् भने सह-निर्माता भुवन अधिकारी र निखिल पौडेल छन्।
अमर महर्जनको सिनेमाटोग्राफी रहेको यस सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा छायाङ्कन गरिएको हो।