दीलिप रायमाझी अभिनित फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ । पोस्टरमा निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ।
पोस्टरमा अभिनेता रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ, जसले दर्शकलाई फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ । फिल्मको कथावस्तु अहिले खुलाइएको छैन, तर निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजर मार्फत थप जानकारी उपलब्ध गराइनेछ ।
फिल्ममा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल देखिने छन् । त्यस्तै, हालका चर्चित हास्य कलाकार उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु समेत विशेष अभिनय रहेको फस्टलुक पोस्टरमार्फत जानकारी दिइएको छ।

दर्शकहरूले चर्चित अभिनेत्री प्रियंका कार्कीलाई विशेष गेस्ट कलाकारको रूपमा देख्न पाउने निर्देशक रिम विश्वकर्माले जानकारी दिए । प्रियंका नेपाली फिल्म उद्योगको सफल अभिनेत्री भएकाले उनको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
रेडलाइन फिल्मस् प्रा.ली को ब्यानरमा निर्माण भएको यो फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् । यसका निर्माता पी।बी। थापा रहेका छन् भने यम आलेले फिल्म खिचेका हुन् । डेढ करोडको लागतमा निर्माण भएको यो फिल्मलाई मित्र डी.गुरुङले सम्पादन तथा रंग संयोजन गरेका छन् ।
फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । द्वन्द्व निर्देशन शंकर महर्जन ले गरेका छन् भने संगीत संयोजन नरेन्द्र यिबोगी र विपिन आचार्यले गरेका छन्।