प्रदर्शनरत फिल्म ’अञ्जिला’को गीत ’रात किन हुन्छ हजुर’ युट्युबमा सार्वजनिक गरिएको छ । पीडायुक्त शब्दहरू रहेको यस गीतले चलचित्रकी प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवन गाथाका केही अंशहरू बयान गरेको छ ।
यस गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ भने थानेश्वरको सङ्गीत र प्रभा बर्तौलाको शब्द रचना रहेको छ । यस गीतको संक्षिप्त अंश चलचित्रमा समेत सुन्न सकिन्छ । चलचित्रका निर्देशक मिलन चाम्सले यस गीतलाई पूर्ण रूपमा सुन्नको लागि दर्शकबाट व्यापक माग आएपछि सार्वजनिक गरिएको बताए ।
फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज ’अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । बिहीबार पहिलो शो देखि नै दर्शकहरूको उत्साहजनक उपस्थितिसहित प्रदर्शन भएको यो चलचित्र हेर्दा दर्शकहरू भाव विह्वल भएका छन् ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
यस्तै, बिहीबार साँझ राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राईले पनि चलचित्र ‘अञ्जिला’ हेरेकी छन् । चलचित्र हेरेपश्चात् दर्शकसँग साक्षात्कार गर्दै राईले एन्जिलाले चलचित्रमा देखाइएको भन्दा पनि अझै धेरै सङ्घर्ष गरेको बताइन् । “यस चलचित्रमा देखाइएको भन्दा पनि धेरै सङ्घर्ष एन्जिलाले गरेकी छन्, जुन मलाई थाहा छ । नेपाली राष्ट्रिय महिला फुटबल खेलाडीहरूले आ-आफ्नो हिसाबले धेरै सङ्घर्ष गर्नुभएको छ । उहाँहरूले यति धेरै सङ्घर्ष गरेर नै आज हामीले खेलको क्षेत्रमा यो ठाउँसम्म आइपुगेका छौँ,” राईले भनिन्, “एन्जिलालाई यो ठाउँमा देख्दा मलाई एकदमै खुसी महसुस भइरहेको छ । छोरीले फुटबल खेल्नु हुँदैन भन्ने सामाजिक दृष्टिकोण मैले पनि भोगेकी थिएँ, आज यो ठाउँमा उभिँदा मलाई पनि गर्व लागेको छ । सबैले अञ्जिला चलचित्र हेरेर एन्जिलालाई सहयोग गर्नुहोला ।” राई सशस्त्र प्रहरी बलको सुरक्षासहित हलमा आएकी थिइन् ।

अहिले सोसल मिडियामा ‘अञ्जिला’को प्रशंसा भएका र दर्शक रोइरहेका भिडियो क्लिप्सहरू भाइरल छन् ।