फागुन २९ गते देशभर प्रदर्शनमा आउने फिल्म ’अञ्जिला’को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । शुक्रवार धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र टिम, चलचित्रकर्मी, खेलाडी, पत्रकारहरू, र स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्रको हङकङ, कोरिया र बेलायतमा सफलतापूर्वक प्रिमियर भइसकेपछि नेपालमा पहिलो पटक धरानमा गरिएको यो प्रिमियरले चलचित्रप्रति दर्शकहरूको उत्सुकतालाई थप बढाएको छ । भव्य सजावट र रेड कार्पेटले सजिएको हलमा दर्शकहरूले चलचित्रको प्रतीक्षा गरिरहेका थिए।

प्रिमियरमा निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह–निर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्सको उपस्थिति थियो । यद्यपि, चलचित्रकी मुख्य अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्यव्यस्तताका कारण उपस्थित रहेनन् । तर, कलाकार प्रकाश सुब्बा र बाल कलाकार नमिक्षा मगरको उपस्थिति भने उल्लेखनीय थियो । यस चलचित्रमा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ ।
फिल्म हेरेपछि दर्शकहरू भावुक समेत बनेका थिए । फिल्म हेरिरहेका दर्शकहरू हलभित्र रोइरहेका देखिन्थे । विशेष गरी एन्जिलाको सङ्घर्षको कथाले सबैको मन छोएको प्रतिक्रिया प्राप्त भएको छ । दर्शकले फिल्मको प्रशंसा गर्दै निर्देशक मिलन चाम्सको उत्कृष्ट निर्देशनको सराहना गरे ।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले फिल्मले नेपाली खेलाडीहरूको वास्तविक सङ्घर्षलाई चित्रण गरेको बताए । युवा दर्शकहरूले फिल्म हेर्दा आफ्नो परिवार र आफूलाई नै देखेको प्रतिक्रिया दिए । चलचित्रकी बाल कलाकार नमिक्षा मगरले एन्जिलाको सङ्घर्ष देखेर आफू पनि रोएको बताइन् ।
दर्शकहरूको सकारात्मक प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित देखियो । निर्माता श्रेष्ठले दर्शकहरूको माया र समर्थनले आफू भावुक भएको बताए भने निर्देशक चाम्सले दर्शकहरू रुँदा आफू पनि भावुक भएको अनुभव सुनाए । चाम्सको यो तेस्रो बायोपिक चलचित्र हो । उनले यसअघि बायोपिकहरू ’ब्लाइन्ड रक्स’ र ’बोबी’ निर्देशन गरेका थिए ।
फिल्मको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । फिल्मको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माता विनोद अग्रवाल हुन् भने टुबेन्द्र लिम्बु, र राजेश बगडिया सह–निर्माता हुन् ।