काठमाडौं । बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको सिनेमा ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउड वितरण कम्पनी बफेलो एटले रिलिज गर्ने भएको छ ।
अमेरिकामै रहेका सिनेमाका निर्माता मध्यका एक राजेन्द्र ठकुराठीका अनुसार बफेलो एटका निर्देशक ज्याकब सिल्भेरासँग रिलिज सम्झौता गरिएको हो । यो कम्पनीले यसअघि अस्कर छनोट सिनेमा ‘विमेन अफ द आवर’ लगायत ‘टेरिफाएर थ्री’, निकोलस केज अभिनित सिनेमा ‘आर्केडियन’, रोबर्ट डि निरो अभिनित ‘वास मि इन द रिभर’ वितरण गरिसकेको छ ।
अंग्रेजीमा ‘द वल्ड्र्स ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो सिनेमाको मुख्य भूमिकामा हरिवंशसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदीले अभिनय गरेका छन् । हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको पहिलो नेपाली सिनेमा हो जसमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन् ।
सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय सिनेमा पुरस्कार विजेता विनोद पौडेलको यो दोस्रो निर्देशकिय फिचर सिनेमा हो । उनले यसअघि मुकुन भुषाल र स्वस्तिमा खड्काको मुख्य भूमिकामा लिएर ‘बुलबुल’ निर्देशन गरेका थिए । सिनेमा प्रचारको लागि निर्देशक पौडेल र अर्का निर्माता तथा कलाकार सुशांक मैनाली केही दिनअघि नेपाल आइसकेका छन् ।