मे २५ मा जापानमा ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ आयोजना हुने भएको छ। जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले पहिलो पटक सो फेस्टिभलमा सहभागिता जनाउने तयारी गरेको हो।
आयोजकले फेस्टिभलका लागि नेपालबाट नोमिनेशनमा परेका लिस्टहरू सार्वजनिक गरिसकेको छ। एक्सन विधामा फिल्म ‘पिताम्बर’बाट तीन जना नोमिनेशनमा परेका छन्— बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेकथ्रु परफर्मेन्समा अनुपविक्रम शाही र बेस्ट डाइरेक्टरमा कृषा चौलागाईं।
ड्रामा विधामा फिल्म ‘तेल भिसा’बाट अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत बेस्ट एक्ट्रेसमा नोमिनेशनमा परेका छन्। यस्तै, फिल्म ‘रंगी’बाट सलोन बस्नेत बेस्ट एक्टरमा तथा सोही फिल्म ड्रामा विधामा उत्कृष्ट फिल्मको नोमिनेशनमा परेको छ।
फेस्टिभलमा विभिन्न देशका फिल्महरू समावेश हुनेछन्। जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले यस फेस्टिभलको आयोजना नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि गरिरहेको हो।
युना इन्टरटेन्मेन्टका प्रमुख उज्ज्वल गुरागाईंले फेस्टिभलबारे जानकारी दिँदै भने, “नेपाली फिल्मको बजारलाई अझै विस्तार गर्न यो फेस्टिभल आयोजना गरिएको हो। यसले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन टेवा पुर्याउने विश्वास हाम्रो टिमले लिएको छ।”
उनले थपे, “नेपाली फिल्मलाई जापानजस्ता अन्तर्राष्ट्रिय मञ्चमा सम्मानका साथ पुर्याउन पाउनु हाम्रो गौरव हो। यो केवल सुरुआत हो। हामी नेपाली कथालाई विश्वव्यापी बनाउन अझै दृढ अडानका साथ अगाडि बढ्नेछौं। नेपाली फिल्मप्रेमीहरूको साथ, विश्वास र मायाले नै आज हामी यो मुकामसम्म पुगेका हौं।”
उनको अनुसार, यो फेस्टिभल नेपाली फिल्महरूको ऐतिहासिक सफलता बन्नेछ। जापानमा नेपाली फिल्मको अधिकार लिएर प्रदर्शन तथा प्रचारप्रसारमा युना इन्टरटेन्मेन्ट र उज्ज्वल गुरागाईंको नेतृत्व सक्रिय रहँदै आएको छ।
फेस्टिभलको पुरस्कार वितरण समारोह मे २५, २०२५ का दिन साँझ ५ बजे जापानको नागोयास्थित मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन (मुख्य थिएटर आओइ) मा गरिनेछ।