हिरो हुँदै निर्माता बनेका धुर्व, भन्छन् – वर्षको एउटा फिल्म बनाउँछु हिरो हुँदै निर्माता बनेका धुर्व, भन्छन् – वर्षको एउटा फिल्म बनाउँछु

हेटौंडाका ध्रुव न्यौपानेलाई ‘हिरो बन्नपर्छ, मौका परे कुनै दिन’ भन्ने सोच कसरी आयो, उनलाई थाहा छैन।

कसरी आयो भन्ने थाहा नभए पनि ठूलो हुँदै जाँदा ‘कलाकार बन्छु’ भन्ने रहर झाँगिँदै गयो। रहर त थियो, तर आफूभित्र कस्तो कलाकार छ भन्ने उनले सोचेकै थिएनन्।

उनीसँग रहर त थियो, तर त्यो रहर भेटिने गन्तव्यको बाटो भने थाहा थिएन। कसैको सहारा लिएर अघि बढ्न पनि कोही चिनेको मानिस थिएनन्।

‘रहर त सबैको कहाँ पूरा हुन्छ र? रहर लाग्नु र त्यसअनुसार पाउनु फरक कुरा हो,’ उनले बाल्यकालको रहर सम्झिए।

तर उनले त्यो रहरलाई मनको कुनामा थन्काएर पैसा कमाउन थाले।

परिस्थितिले उनलाई हेटौंडाबाट काठमाडौं ल्यायो। नयाँ बानेश्वरमा उनले रोजमेरी क्याफे खोलेर रेस्टुरेन्ट व्यवसाय सुरु गरे। प्राइम लोकेसनको क्याफे भएकाले कलाकार र फिल्मकर्मीहरू आउँथे। त्यहीँबाट चिनजान बढ्दै गयो।

‘चिनजान भएपछि कुराकानी हुन थाल्यो। फिल्मकर्मीहरूले नै “तपाईंजस्तो मान्छेले रंगिन दुनियाँमा आउनुपर्छ” भनेर उत्साह दिनुभयो,’ उनले सुनाए।

त्यही उत्साहले कलाकार बन्ने पुरानै रहर फेरि जाग्यो। उनले म्युजिक भिडियोबाट काम सुरु गरे। ‘झन्डै ५० वटा जति म्युजिक भिडियो गरेँ होला,’ उनी भन्छन्।

त्यही क्रममा उनले ठूलो पर्दाको मौका पाए।

तबसम्म नेपाली फिल्म उद्योगका मानिसहरूसँग उनको राम्रो सम्बन्ध भइसकेको थियो। यही सम्बन्धका आधारमा उनले ‘प्लान’ नामक फिल्ममा ब्रेक पाए।

त्यसपछि ‘सन्त्रास’, ‘क्राइम’, ‘द क्राइम’, ‘पायल’जस्ता आधा दर्जन फिल्ममा अभिनय गरे। व्यावसायिक पृष्ठभूमिबाट आएकाले पैसा खर्च गरेर अभिनय गर्‍यो त? भन्ने प्रश्नमा उनी भन्छन्, ‘कुनै फिल्ममा पैसा हालेर खेलेको होइन, बरु कतिपयमा सित्तैमा काम गरें।’

त्यसैबेलामा कोभिड महामारी सुरु भयो।

धेरै रहर भएर पनि अभिनयको यात्रा खासै अघि बढेन। त्यसैले उनी फिल्म क्षेत्रमा मेकरका रूपमा टिकिरहन चाहे।

‘कलाकार भन्दा पनि निर्माता बन्ने योजना बनाएँ। मेरो रहर पूरा गरेँ जस्तो लाग्यो। म व्यवसायीक दृष्टिकोणले अघि बढ्न चाहन्छु,’ उनी भन्छन्।

अभिनयबाट अपेक्षित परिणाम नआएपछि उनले निर्माणमा हात हाले। ‘धुर्वतारा फिल्म्स’को ब्यानरमा उनले ‘हिरो रिटर्न्स’ बनाए। तर कोरोना महामारीले असर पार्‍यो, फिल्म फ्लप भयो।

‘किन ढाँट्नु, फिल्म चलेन। तर व्यापार यस्तो हो— कुन फिल्म कहिले चल्छ भन्न सकिँदैन। आफूले राम्रो हो भन्ने लागेकै फिल्म बनाउने हो,’ उनी भन्छन्।

ध्रुव असफलताबाट डराउँदैनन्।

विभिन्न व्यवसायमा सक्रिय उनी सफलताको खोजीमा निरन्तर लागिरहन्छन्।

‘म एउटा हारले थच्चिने मान्छे होइन। ‘मायावी’बाट फेरि निर्माता बनेँ। दुर्भाग्यवश त्यो पनि चलेन। तर त्यसलाई स्वीकार्दै ‘नरसिंहा अवतार’ लिएर दर्शकमाझ आउँदैछु,’ उनी भन्छन्।

उनी फिल्मले राम्रो गर्छ भन्नेमा ढुक्क छन्।

‘म निर्माता मात्रै होइन, मेरो फिल्म करियरको दोस्रो इनिङमा राम्रो प्रोडक्सन हाउस सञ्चालन गर्ने योजना पनि लिएर आएको छु। लाइट ल्याइसकेको छु, क्यामरा आउँदैछन्,’ उनी भन्छन्।

फुल कन्फिडेन्सका साथ उनी भन्छन्, ‘धुर्वतारा फिल्म्स’ले हरेक वर्ष कम्तिमा एउटा फिल्म बनाउनेछ।’

‘चेतना कन्स्ट्रक्सन’ नामक ‘क’ वर्गको निर्माण कम्पनी र होटल मुनस्टारमा सह-लगानीकर्तासमेत रहेका उनीसँग यस्तो आत्मविश्वास हुनु अस्वाभाविक होइन।

ध्रुवको फिल्म निर्माण यात्राले यसपटक लामो रेसको घोडा बन्ने देखिन्छ।

भन्छन्— ‘कोशिश गर्न छोड्दिन।’

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti