‘जार’को गीत ‘ए ठूली’मा लाहुरेको प्रेमकथा ‘जार’को गीत ‘ए ठूली’मा लाहुरेको प्रेमकथा

फिल्म जारको गीत सार्वजनिक भएको छ। ‘ए ठूली’ शीर्षकको गीत निर्माण पक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको हो।

झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा हर्क साउदको शब्द र झुमा लिम्बूकै संगीत रहेको छ। गीत लोकलयमा आधारित छ।

लोकलयमा आधारित यस गीतले प्रेमको कथा सुनाउँछ। प्रेमिल भावनाले भरिएको गीतमा प्रेममा रहेका व्यक्तिको रुमानी कल्पना र मिठो प्रतीक्षाको वर्णन गरिएको छ। सुन्दर परिकल्पना गर्दै प्रेमिको पर्खाइमा आँखा बिछ्याएर बसेकी प्रेमिकाको कथा गीतमा प्रस्तुत गरिएको छ।

लाहुरेमा रहेको प्रेमीलाई घाम, पानी, खोलाको सामना गर्दा सास्ती भइरहेको होला भन्ने चिन्तामा घरमै बसेकी कोमल मनकी प्रेमिकाको भावनालाई गीतले बोकेको छ। उता लाहुरमा रहेको प्रेमीले गाउँमा रहेकी प्रेमिकालाई सम्झँदै मनभित्र रहेको मायाले आफू पूर्ण भएको महसुस गरेको प्रसङ्ग पनि गीतमा समेटिएको छ।

गीतबाट फिल्मले लाहुरेको कथा प्रस्तुत गर्ने प्रस्ट संकेत पाइन्छ। जार यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, गीताञ्जली थापा लगायत कलाकार फिचर्ड छन्। भिडियोले स्थानीय ग्रामीण जनजीवनको चित्रण गरेको छ।

जार सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित फिल्म हो। यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ।

इन्द्रबहादुर राईले सन् १८ सयको दशकको समयलाई आफ्ना कथाको विषय बनाएका थिए। त्यसैले सोही विषयवस्तुमा जार निर्माण गरिएकाले यो २२५ वर्ष पुरानो कथामा आधारित फिल्म भएको निर्देशक फूर्वा छिरिङ लामाले बताएका छन्।

फेरि टेल पिक्चर्सले निर्माण गरेको जार सामाजिक विषयमा केन्द्रित भए पनि यो पूर्ण मनोरञ्जन प्याकेज भएको निर्देशक लामाको दाबी छ। त्यसैले जार दर्शकको मन जित्नेमा उनी ढुक्क छन्।

फिल्म जारमा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापा लगायत कलाकारहरूको प्रमुख भूमिका छ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको हो।

फिल्म जारका कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।

सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन रहेको छ। फिल्ममा झुमा लिम्बू र गंगा थापाको संगीत समावेश छ।

फिल्म जार नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ। नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमा रहनेछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti