क्लासिकल शैलीको नेपाली म्युजिक भिडियो ‘बदमास’ सार्वजनिक गरिएको छ।
नेपाली सङ्गीत क्षेत्रका विशिष्ट सङ्गीतकर्मी न्ह्यू बज्राचार्यको सङ्गीत रहेको यस गीतमा गायिका मेनुका पौडेलको सशक्त स्वर सुन्न सकिन्छ।
नाम्लो इभेन्ट्सको प्रस्तुतिमा बनेको यो म्युजिक भिडियो बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो। गीतका निर्माता तथा गीतकार सुन्दर राजभण्डारी हुन्। एरेन्जरका रूपमा गोपाल रसाइली र कार्यकारी निर्माताका रूपमा विक्रान्त मान श्रेष्ठ रहेका छन्।
भिडियोको निर्देशन बिमलेश अधिकारीले गरेका हुन्, जसले सयौँ म्युजिक भिडियो र दर्जनौँ फिल्ममा अभिनय गरिसकेका छन्। निर्देशकका रूपमा यो उनको पाँचौँ म्युजिक भिडियो हो।
भिडियोमा अभिनेत्री सनिषा भट्टराई र अभिनेता विजु पार्कीको अभिनय रहेको छ। कोरियोग्राफी करण शाहले, छायाङ्कन हरि हुमागाईंले, सम्पादन प्रवीण मानन्धरले र प्रोडक्सन व्यवस्थापन दिपेन गौतम ‘माइकल’ले सम्हालेका छन्।
समारोहमा वरिष्ठ गायक विकास राणा, वरिष्ठ कवि तथा साहित्यकार विप्लव प्रतीक, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी र अभिनेता प्रशान्त ताम्राकारसहित विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै साहित्यकार विप्लव प्रतीकले गीत सुनेपछि आफू भावविह्वल भएको प्रतिक्रिया दिए। उनले सङ्गीतकार न्ह्यू बज्राचार्यलाई ‘लिभिङ लिजेन्ड’को संज्ञा दिँदै गीतकार राजभण्डारीको कलात्मकता, गायिका पौडेलको मिठासपूर्ण गायन र निर्देशक बिमलेश अधिकारीको संवेदनशील निर्देशनको खुलेर प्रशंसा गरे। साथै, कलाकार सनिषा र विजुको अभिनयले गीतमा नयाँ उचाइ थपेको बताए।
गीतकार सुन्दर राजभण्डारीले आफू प्रत्येक वर्ष दुईवटा गीत सार्वजनिक गर्ने योजनामा रहेको उल्लेख गर्दै सशक्त सिर्जनामार्फत नेपाली सङ्गीतमा योगदान दिन चाहेको बताए।
निर्देशक अधिकारीले आफैँ अभिनेता भए तापनि यसपटक निर्देशनमै केन्द्रित भएर काम गरेको र उत्कृष्ट नतिजा दिन प्रयासरत रहेको उल्लेख गरे। गीतमा अभिनय गरेका कलाकार सनिषा भट्टराई र विजु पार्कीले सक्षम टिमसँग काम गर्न पाउनु गर्वको विषय भएको भन्दै दर्शकको माया प्राप्त हुने विश्वास व्यक्त गरे।