राज कटुवाल – यसपटक आफूलाई पटक–पटक चुनौती दिएको छु राज कटुवाल – यसपटक आफूलाई पटक–पटक चुनौती दिएको छु

जेठ ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’बाट एक नयाँ एक्सन हिरोको उदय हुने विश्लेषण गरिएको छ। यो विश्लेषण गरिएका अभिनेताको नाम हो-राज कटुवाल।

हुन त राज फिल्म क्षेत्रमा आएको केही वर्ष भइसकेको छ तर जेठ ९ गतेपछि भने उनको परिचय फेरिने अपेक्षा गरिएको छ। नेपाली फिल्म क्षेत्रमा गतवर्षदेखि एक्सनले फेरि दर्शकको ध्यान तान्न थालेको छ। यही लहरमा ‘नरसिंहाः अवतार’ पनि पर्ने अपेक्षा गरिएको छ, र राज कटुवाल उदाउने धेरैको विश्लेषण छ।

राज हतारमा एक्सन फिल्ममा देखिन लागेका होइनन्। उनले यसको तयारी गरेरै आएका हुन्। राजसँग एक्सन हिरोका लागि आवश्यक पर्ने माचो लुक्स र शारीरिक बनावट छ। यही फिल्मका लागि उनले शरीर सुगठित बनाएका छन्। साथै, मिक्स्ड मार्शल आर्टको पर्याप्त तालिम पनि लिएका छन्।

राज आफ्नो रिडेब्यूलाई लिएर निकै उत्साहित छन्। फिल्म क्षेत्रमा १५ वर्ष बिताइसकेका राज भन्छन्, ‘एउटा मौका पाउँ अनि म मेरो क्षमता देखाउँछु भन्ने दृढतासहित प्रस्तुत हुँदैछु। यो क्षेत्रमा १५ वर्षदेखि लागे पनि मैले आफ्नो क्षमता के हो भन्ने कुरालाई कहिल्यै गहिरो रूपमा सोचेको थिइनँ। सायद त्यो उमेरकै लहड थियो। यसपटक भने मैले आफूलाई पटक–पटक चुनौती दिएको महसुस गरेको छु।’

राज अगाडि भन्छन्, ‘मैले १५ वर्ष पुरानो मेरो यात्रा बिर्सेर आफूलाई जिरो मानेँ। म केही होइन, मलाई कसैले पनि चिन्दैन भनेर सोचेर अझ बढी मिहिनेत गरिरहेको छु। यसपटकको अवसरलाई म एउटा उत्कृष्ट अवसरका रूपमा प्रमाणित गर्न चाहन्छु। जीवनमा मौका कहिले र कसरी आउँछ भन्न सकिँदैन। त्यसैले मौका चिन्न र त्यसको उपयोग गर्न चनाखो हुनुपर्छ।’

राजले ‘नरसिंहाः अवतार’लाई आफ्नो करिअरको क्याटालिस्ट बनाउने दृढताका साथ लागेका छन्। करिअरको बीचमा उनले हार मानेझैं अनुभव गरेका थिए। गरेको कामले अपेक्षित नाम नदिएपछि उनी केही समय ओझेलमा परेका थिए। तर चलचित्र विकास बोर्डको सदस्य बनेपछि फिल्मकर्मीहरूबाट पटक–पटक अभिनयमा फर्कन सुझाव आउन थाले। त्यसपछि उनले फेरि आफूलाई परीक्षा दिन तयार पारे।

राजलाई आजको समय र सिनेमा परिवेशको राम्रो ज्ञान छ। दर्शकको रुचि र अपेक्षा परिवर्तन भइसकेको बुझाइसहित उनले पुनरागमनको तयारी गरेका हुन्।

‘सिर्फ आएँ भनेर आउने होइन भन्ने सोच थियो। म कसरी र कुन प्रकारले आउँछु भन्ने विषयमा मेरो मुख्य ध्यान थियो। त्यसैले कुनै पनि प्रस्ताव तत्काल स्वीकार गर्ने मनसाय थिएन। अनि मलाई जीविकोपार्जनकै लागि फिल्म खेल्नुपर्ने बाध्यता पनि छैन। त्यसैले राम्रो कथा र राम्रो निर्देशकको पर्खाइमै थिएँ,’ राज स्पष्ट पार्छन्।

अन्ततः ‘नरसिंहाः अवतार’ नै राजका प्रश्नहरूको उत्तर र चाहनाको मूर्तरूप बनेर आयो। दिवाकर भट्टराईको निर्देशनमा बनेको यो फिल्म आफ्नो करिअरका लागि स्मरणीय र कोशेढुंगा सावित हुने विश्वास राजले व्यक्त गरेका छन्।

यसपटक सबै कुरा मिल्दै गएको महसुस गरेका राजले सबै कोणबाट राम्रो भइरहेको हुँदा आफू आशावादी रहेको बताएका छन्।

यो फिल्ममा राजले नायक राजेश हमालसँग पर्दा शेयर गरेका छन्। दुवैको अभिनयले फिल्ममा विशेष चर्चा पाउने उनको अनुमान छ। राज भन्छन्, ‘जसलाई आदर्श मानेर अभिनय गर्ने सपना बन्यो, उहाँसँगै काम गर्न पाउनु दुर्लभ अवसर हो। सपना साकार भएको जस्तै लागेको छ। उहाँबाट सबैभन्दा महत्वपूर्ण कुरा सिकेँ—सुपरस्टार हुँदा पनि जुन धरातलबाट उभिनुपर्ने हो, त्यो नबिर्सनु पर्ने रहेछ। उहाँको कामले यसपटक विशेष चर्चा पाउनेछ।’

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti