हेर्नुस् ‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीत, कस्तो छ मिरुना-विपिनको रोमान्स ? हेर्नुस् ‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीत, कस्तो छ मिरुना-विपिनको रोमान्स ?

सुजन र झुमाको प्रत्यक्ष प्रस्तुतिसहित चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीत सार्वजनिक

काठमाडौं — वैशाख २६ गतेदेखि विश्वव्यापी रूपमा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ शीर्षकको गीत सार्वजनिक गरिएको छ। मङ्गलबार काठमाडौंको बिग मुभिजमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको यस गीतले चलचित्रको यथार्थवादी स्वाद प्रस्तुत गर्छ।

यसमा युवराज काफ्लेको शब्द, झुमा लिम्बुको सङ्गीत, तथा झुमा लिम्बु र सुजन चापागाईँको स्वर समावेश छ।

गीत सार्वजनिक समारोहमा चलचित्रका निर्देशक नवीन चौहानले ‘काफ्ले’ शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको बताए। “हामी चलचित्रको जुन सपना बोकेर पाँचथर गएका थियौं, आज त्यो सपना पुरा हुन लागेको छ। चलचित्र ‘रियलिस्टिक अप्रोच’बाट निर्माण गरिएको भएकाले गीतलाई पनि हामीले यथार्थपरक शैलीमा प्रस्तुत गरेका हौं,” चौहानले भने। उनका अनुसार, अभिनेता विपिन कार्कीले चलचित्रमा ‘धरणीधर काफ्ले’को भूमिका निर्वाह गरेका छन्, जसका लागि काफ्ले थरका व्यक्तिहरूको संस्कृति र जीवनशैलीबारे अध्ययन गरिएको थियो।

कार्यक्रममा निर्देशक चौहानले म्युजिक भिडियो र चलचित्र निर्माणको भिन्नतालाई पनि औँल्याए। “मैले चलचित्र बनाउँछु भनेर जुन दिन सोचें, त्यस दिनदेखि मेरो सामु यो प्रश्नको ठूलो पहाड थियो,” उनले थपे, “यो दुई घण्टाको म्युजिक भिडियो होइन, यो चलचित्र नै हो भन्ने अनुभूति दिलाउन अहोरात्र खटिएको छु।”

गीतका गीतकार युवराज काफ्लेले आफ्नो थरलाई गीतमार्फत ब्रान्डमा बदल्ने पुरानो सपना पूरा भएको बताए। “स्कुलमा शिक्षकहरूले मलाई ‘काफ्ले काफ्ले’ भनेर बोलाउँदा रिस उठ्थ्यो। त्यहीबेला सोचेको थिएँ, एकदिन काफ्ले थरलाई ब्रान्ड बनाउँछु। अहिले आर्टमाण्डू टिमसँग यात्रा सुरु गरेर त्यो सपना पुरा गर्न पाउँदा खुसी छु,” उनले भने।

सङ्गीतकार तथा गायिका झुमा लिम्बुले ‘काफ्ले’ गीत आफ्नो बाल्यकालको सम्झनासँग जोडिएको बताइन्। “यो गीतमा म आफ्नो बाल्यकाल भेट्छु। काफ्लेको बारेमा गीत बनाउने क्रममा, काफ्ले गाउँमै जन्मे हुर्किएको थाहा पाउनु एक संयोग थियो,” उनले भनिन्। मुन्धुम संस्कृति अध्ययनमा सक्रिय झुमा लिम्बुले गीतमा समेटिएको सांस्कृतिक गहिराइलाई अझ सशक्त बनाएकी छन्।

गीतका गायक सुजन चापागाईँले गीतको संरचनाबारे बोल्दै, धेरै रङका धागाहरूलाई बटुलेर ‘ऊनको स्वीटर’ बनाइएको बताए। कार्यक्रममा झुमा लिम्बु र सुजन चापागाईँले प्रत्यक्ष प्रस्तुति पनि दिएका थिए।

चलचित्रका प्रमुख अभिनेता विपिन कार्कीले फिल्ममा काम गर्नु रमाइलो अनुभव भएको बताए। “अटो भर्ने कुराले आफ्नै अनुभव सम्झिन्छु। स्कुलमा मैले धेरै साथीहरूको अटो लेखेको छु,” उनले भने, “चलचित्रमा कतिपय आफ्नै अनुभवहरू पनि समावेश छन्।”

अभिनेत्री मिरुना मगरले यस गीतसँग भावनात्मक सम्बन्ध रहेको उल्लेख गरिन्। “यो गीत मेरो पुर्खाहरूले गुनगुनाएको भाकासँग मेल खान्छ। त्यही गीतमा काम गर्न पाउनु, आफ्नै जस्तो लाग्यो,” उनले भनिन्। साथै, चलचित्र निर्माणको अनुभवलाई उनले “स्वीटरमा बुनिएजस्तो” भनेकी छन्।

अभिनेता विल्सन विक्रम राईले ‘ऊनको स्वीटर’को अभिनय समयलाई आफ्नो ‘लक्की टाइम’को रूपमा चित्रण गरे भने, अर्का अभिनेता एलेक्स पारसले आर्टमाण्डू टिमप्रति आभार प्रकट गरे।

आर्टमाण्डू प्रा.लि.को पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित सामाजिक कथानक चलचित्र हो। विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको यस चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बु, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायतका कलाकारको अभिनय छ।

सुजन चापागाईँ गीत निर्देशक रहेको यस चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन्। सुरज कटुवाल सह-लेखकका रूपमा सहभागी छन्। निर्देशक चौहानका अनुसार, सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजका जीवन्त रङहरूलाई एउटै धागोमा बाँध्ने प्रयास गरिएको छ।

गीत सार्वजनिक समारोहमा आर्टमाण्डूको परिचय भिडियो पनि प्रस्तुत गरिएको थियो।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti