नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि चर्चामा रहेका नायक पल शाह अब निर्माता बन्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो फिल्मको घोषणा गरिएको हो।
‘पल शाह फिल्म्स’को व्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘यानीमाया’ राखिएको छ। यो फिल्मलाई विकास सुवेदीले निर्देशन गर्दैछन्। सुवेदीले यसअघि ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ जस्ता चर्चित फिल्महरूको कथा लेखेका थिए। यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन्।
फ्यामिली ड्रामा कथामा आधारित रहेर यो फिल्म बन्नेछ। यसको स्क्रिप्ट पनि निर्देशक सुवेदीले नै लेखेका हुन्।
सुवेदीले लेखेका अघिल्ला तीनवटै फिल्महरू सामाजिक कथावस्तुमा आधारित थिए। उनले यो फिल्म आफ्नै शैलीमा बनाउन लागेको जानकारी दिएका छन्।
नायक पल शाहले ‘पल शाह फिल्म्स’लाई दर्शकहरूले निकै माया दिएको भन्दै अब आफू फिल्म निर्माणतर्फ अग्रसर भएको बताएका छन्। उनले फिल्म निर्माणमा पनि दर्शकहरूबाट अपार माया र साथ पाउने विश्वास व्यक्त गरेका छन्।
फिल्मको छायांकन असारबाट सुरु गरिने जानकारी निर्माण पक्षले दिएको छ। फिल्मका कलाकारहरू अझै फाइनल हुन बाँकी रहेको निर्देशक सुवेदीले जनाएका छन्।