जुम्लामा छायांकन भइरहेको फिल्म ‘कल्ली’ को प्रदर्शन मिति तय गरिएको छ।
यसको निर्माण पक्षले आउँदो वर्षको कात्तिक २१ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो। तिहारको दुई सातापछि यो फिल्म रिलिजमा आउनेछ।
काफिया फिल्म्स र कुबेर फिल्म्सले यो फिल्मलाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन्। वितरकहरूसँग सल्लाह गरेर रिलिज मिति तय गरिएको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए।
हिमाल कडेरिया र अमला देबी राई निर्माता रहेको फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन छ। महेश दवाडीको लेखन रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन्।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा यो फिल्म बनेको हो।
यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरूको अभिनय छ।
निसाल पौडेलको छायांकन रहेको यो फिल्मको कथावस्तु बारे निर्माण पक्षले केही पनि बताएको छैन।