सन् २००० मा मिस नेपालको ताज जितेकी उषा खड्गीले फिल्ममा डेब्यु गर्न भने समय लिइन्।
मिस नेपाल बनेको २५ वर्षपछि उनले फिल्ममा डेब्यु गरेकी हुन्। उनको डेब्यु अभिनय रहेको फिल्म ‘नरसिंहः अवतार’ जेठ ९ गतेदेखि रिलिजमा आउँदैछ।
फिल्ममा उषाको भूमिका कस्तो होला भन्ने दर्शकमाझ कौतुहलता छ। यसैबीच, निर्माण पक्षले उषाको फस्ट लुक सार्वजनिक गरेको छ।
सार्वजनिक पोस्टरमा उषा मुस्कुराइरहेकी देखिन्छिन्, र उनको पछाडि नरसिंहको ठूलो चित्र देख्न सकिन्छ।
फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको उषाले बताएकी छिन्। तर फिल्ममा उनी अभिनेता राजेश हमालको जोडीको रूपमा देखिन्छिन् कि छैनन् भन्ने खुलाइएको छैन। उषाले अहिले नै यसबारे बोल्न नमिल्ने बताएकी छिन्।
यद्यपि, उषाले यसअघि राजेश हमालसँग म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। तर, फिल्ममा हमालसँग पर्दा शेयर गर्न पाउँदा आफू निकै खुशी भएको र दर्शकले आफूलाई कसरी ग्रहण गर्नुहुन्छ भन्ने विषयमा कौतुहलता बढेको उषाले प्रतिक्रिया दिएकी छिन्।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्ममा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाहीलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, र नेम महर्जनको लगानी छ।
