‘पिताम्बर’को धमाकेदार एक्सन-ड्रामायूक्त ट्रेलर, रिलिजको केही घण्टामै ट्रेन्डिङमा ‘पिताम्बर’को धमाकेदार एक्सन-ड्रामायूक्त ट्रेलर,  रिलिजको केही घण्टामै ट्रेन्डिङमा

नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने सिनेमा ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममार्फत निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।

अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाइरहेको दृश्यबाट सुरु भएको ट्रेलरमा एक्सन दृश्यहरूलाई प्राथमिकता दिइएको छ। बदलाको भाव झल्काउने ट्रेलरमा अधिकांश दृश्यहरू एक्सन प्रधान छन्। यसमा सिनेमाका प्रायः सबै कलाकारलाई स्थान दिइएको छ। ट्रेलर बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो।

करिब ३ घण्टा अगाडि रिलिज भएको ट्रेलरप्रति उच्च मेकिङका कारण अभूतपूर्व चासो देखिएको छ। यही चासोका कारण ३ घण्टा नहुँदै ट्रेलर यूट्यूबको ट्रेन्डिङमा आएको छ। ट्रेलर हाल मुभिज सेक्सनको ९ औं नम्बरमा ट्रेन्ड गरिरहेको छ ।

यसले वक्सअफिसमा फिल्मले राम्रै उछालसहित ओपनिङ पाउने बलियो संकेत देखाएको बुझ्नसकिन्छ ।

आज ट्रेलर रिलिजपछि बोल्दै निर्देशक कृषा चौलागाईंले आफूले सिनेमा बनाइसकेकाले दर्शकसमक्ष आत्मसमर्पण गरेको बताइन्।

‘ट्रेलर आएसँगै हामीले दर्शकसँग आत्मसमर्पण गरिसक्यौं। टिजर, गीत, पोस्टरजस्तै ट्रेलरलाई पनि दर्शकले मनपराइदिनुहुनेछ भन्नेमा ढुक्क छौं,’ उनले भनिन्।

सिनेमाका निर्माता विशाल चौलागाईंले आफूले नेपाली सिने क्षेत्रमा एउटा राम्रो सिनेमा दिएको बताए। उनले सिनेमा क्षेत्रका सबै पक्ष मिलेर अघि बढ्न सके उद्योगको भलो हुने धारणा राखे।

केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय रहेको छ।

सिनेमामा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले पनि अभिनय गरेका छन्।

विशाल चौलागाईं निर्माता रहेको सिनेमामा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माता छन् भने सुमन गौतम कार्यकारी निर्माता रहेका छन्। सिनेमाको पटकथा र संवाद प्रदीप भारद्वाज तथा अभिमन्यु निरवीले लेखेका हुन्। सिनेमाको छायांकन पुरुषोत्तम प्रधान, शेरबहादुर लामा, र मानकृष्ण महर्जनले गरेका छन् भने सम्पादन बन्दे प्रसादले गरेका छन्। ट्रेलर सम्पादन पनि बन्दे प्रसादले गरेका हुन्।

सिनेमामा आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ। आरआर फिल्म्सले सिनेमाको वितरण गर्नेछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti