‘कर्मा’ फिल्मका लागि सुशान्त केसीले गाएको ‘पागल’ बोलको गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङमा परेको छ ।
यो गीत युट्युबको म्युजिक सेक्सनअन्तर्गत ७ नम्बर ट्रेन्डिङ कब्जा गरेको छ ।
प्रेमिल गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ । फिल्मको गीत सार्वजनिक भएसँगै ‘कर्मा’को हाइप पनि बढेको छ ।
सार्वजनिक गीतलाई युट्युबमा दर्शकले राम्रो साथ दिएका छन् । जसको उदाहरण, २४ घण्टा नबित्दै युट्युब ट्रेण्डिङ कब्जा गर्नु । हालसम्म यो गीतलाई करिब ३ लाख १५ हजार दर्शकले हेरिसकेका छन् ।
फिल्मका लागि पहिलो पटक गीत गाएका गायक केसीले अहिलेको युवापुस्ताले रुचाउने खालको गीत तयार पारेका छन् । फेसबुक सर्ट तथा रिल्समा राखिएको छोटो क्लिप नै दर्शकले औधी मन पराएका छन् ।
गीतको शब्द तथा लय सुशान्त केसीकै फ्लेवरमा छ । जसका कारण युवा पुस्ताले यो गीत मन पराउनेमा फिल्मको निर्माणपक्ष ढुक्क छ ।
सुशान्तले फिल्मको पहिलो गीत, नयाँ अनुभव चैतमा छिट्टै हलमा भन्दै सामाजिक सञ्जालमा यसअघि नै लेखेका थिए ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार फिचर्ड छन् । विपिन कार्की र उपासना सिंह ठकुरीले भिडियोमा अभिनय गरेका छन् । एकअर्काप्रति गरेको माया गीत र भिडियोमा देख्न सकिन्छ ।
विपिनले उपासनालाई देख्नासाथ मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ । एकले अर्काको आँखामा देखेको प्रेमको गहिराइलाई सुशान्तले गीतमा उतारेका छन् ।
फिल्मको फुटेज भिडियोमा प्रयोग गरिएको छ । फिल्मका कलाकार जस्तै सुशान्त पनि भिडियोमा फिचर्ड छन् ।
नेपाल र विदेशमा एकसाथ रिलिज हुने फिल्म ‘कर्मा’ नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गते रिलिज हुँदैछ ।
फिल्म ‘कर्मा’मा विपिन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज फिल्मले लिएको छ ।
एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । फिल्मको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।
फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।
निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।