फस्टलुक सार्वजनिक गर्दै सिनेमा ‘नरसिंहाः अवतार’ को प्रदर्शन मिति तय गरिएको छ। आज काठमाडौंको ग्लोबल कलेजमा आयोजित भव्य कार्यक्रममा सिनेमा ‘नरसिंहाः अवतार’ को फस्टलुक सार्वजनिक गरियो। पाँच सयभन्दा बढी विद्यार्थीको उपस्थितिमा दुई पोस्टर सार्वजनिक गरिएको हो।
यस सिनेमा आगामी वर्षको जेठ ९ गतेबाट रिलिज हुने घोषणा निर्माण पक्षले गरेको छ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमाबाट नायक राजेश हमाल ८ वर्षपछि नेपाली सिनेमा क्षेत्रमा कमब्याक गर्दैछन्। यसकारण पनि यो सिनेमा विशेष र प्रतिक्षित मानिएको छ।
संभवतः नेपाली सिनेमा इतिहासमै सबैभन्दा लामो पोस्टर सार्वजनिक गर्ने कार्यक्रम यही हो। कार्यक्रममा नायक हमालले आफूले ३ सयभन्दा बढी सिनेमा मा काम गरेको तर यति ठूलो पोस्टर कार्यक्रम पहिलो पटक देखेको बताए।
यस सिनेमामा राजेश हमालसँगै सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजीव जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकारको अभिनय छ।
राजु विक्रम थापाले खिचेको सिनेमामा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत समावेश छ।
राजु लामाको एक्सन निर्देशन रहेको सिनेमाको कथा चन्द्र पन्तले लेखेका हुन् ।
पोस्टरको डिजाइन राकेश दाहालले गरेका छन्।
यस सिनेमामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ। करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो सिनेमाका एसोसिएट निर्देशक बसन्त अधिकारी हुन्।
कार्यक्रममा विद्यार्थीहरूमाझ नायक राजेश हमालसँग सम्बन्धित १० प्रश्न गरिएको थियो। सही उत्तर दिने विद्यार्थीलाई सिनेमाका कलाकारले उपहार प्रदान गरे।
ग्लोबल कलेजका विद्यार्थीहरूले यो सिनेमा हेर्न आफूहरू निक्कै उत्साहित रहेको बताएका छन्। सिनेमा ‘नरसिंहाः अवतार’ लाई प्रेम, सस्पेन्स र एक्सनको मिश्रण भनिएको छ।