‘कर्मा’का लागि दुर्गेशले गाए गीत, कहिले होला रिलिज ? ‘कर्मा’का लागि दुर्गेशले गाए गीत, कहिले होला रिलिज ?

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘कर्मा’का लागि गायक दुर्गेश थापाले गीत गाएका छन्।

उनले आफूले फिल्म ‘कर्मा’को गीत गाएको जानकारी दिएका छन्।

केही दिनअघि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन गरिएको छ। यो गीत फिल्मभित्रै समावेश हुने बताइएको छ।

दुर्गेशले गाएको गीतमा फिल्मका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय देखिनेछ। निर्माण पक्षका अनुसार केही दिनमै उक्त गीत सार्वजनिक हुनेछ।

नयाँ वर्ष २०८२ को अवसर पारेर फिल्म ‘कर्मा’ आगामी चैत २९ गते नेपाल र विदेशमा एकसाथ रिलिज हुँदैछ।

यसैबीच, निर्माण पक्षले आज साँझ गायक सुशान्त केसीको आवाजमा रहेको ‘पागल पागल जस्तै’ बोलको गीत सार्वजनिक गर्दैछ।

गायक केसीले ‘कर्मा’मार्फत पार्श्व गायनमा डेब्यु गरेका हुन्। केही दिनअघि निर्माण पक्षले भिडियो छायांकन गरेको थियो। यस गीतमा उनकै शब्द, संगीत र स्वर समावेश छ।

सुशान्त केसी युवा पुस्तामाझ लोकप्रिय गायक हुन्। उनी हम्मेसि अरूका लागि गीत गाउँदैनन् र आफ्नै युट्युब च्यानलमा मात्रै गीत सार्वजनिक गर्ने गरेका छन्। उनका हरेक गीत युट्युबमा मिलियनभन्दा बढी पटक हेरिएका छन्।

फिल्म ‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतका कलाकारहरूको अभिनय छ।

एक्सन, ड्रामा र सस्पेन्स जनरामा निर्माण भएको यो फिल्मको कथा निर्देशक चौधरी आफैँले लेखेका हुन्।

‘कर्मा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ।

फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, निमेष श्रेष्ठको सम्पादन, समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ।

निर्देशक चौधरीको अघिल्लो फिल्म ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षक दुवैबाट राम्रो प्रतिक्रिया पाएको थियो।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti