प्रकाश सपुतको भाइको परिचय बोकेका देवेन्द्र बब्लुले त्यो परिचय ओझेल पार्ने बाटो समातेका छन्। पछिल्लो समय लोक-आधुनिक लयका गीतहरूमा उदाउँदै गरेका बब्लुले एक महिनाभित्र दुईवटा ठूला सांगीतिक सफलता हात पारेका छन्।
पहिलो सफलता उनले आफ्ना दाजु प्रकाश सपुतको डेब्यू निर्देशन रहेको फिल्म ‘बसन्त’का लागि गाएको ‘बिना स्वादैको’ गीतबाट पाएका थिए। दोस्रो सफलता भने केही दिनअघि मात्र सार्वजनिक भएको ‘बुढो भयौं’ गीतबाट आएको छ।
रिलिज भएलगत्तै यी दुबै गीत युट्युबमा ट्रेन्डिङमा पर्न सफल भए र दर्शक-श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरे। ‘बसन्त’ को ‘बिना स्वादैको’ गीत रिलिजको १० दिनपछि युट्युब ट्रेन्डिङको संगीत विधामा शीर्ष स्थानमा पुगेको थियो, जसका लागि धेरै टिकटक र रिल्स भिडियोहरू बने।
यो गीत अझैं पनि ट्रेन्डिङको ८ औं स्थानमा रहेको छ ।
त्यस्तै, ‘बुढो भयौं’ गीत अहिले युट्युब ट्रेन्डिङको संगीत खण्डमा चौथो स्थानमा छ, र यसमा समेत धेरै टिकटक तथा रिल्स बन्ने क्रम जारी छ।
दुबै गीतले फरक-फरक भाव व्यक्त गर्छन्। ‘बसन्त’को ‘बिना स्वादैको’ गीतले युवापुस्ताको प्रेमभावना बोकेको छ भने ‘बुढो भयौं’ गीतले तन्नेरी समयमा भएका सम्झनाहरूलाई उजागर गर्छ। पहिलो गीतले मायामा जात व्यवस्थाले खडा गरेको तगारोलाई चित्रण गर्छ भने दोस्रो गीतले जीवनको बिस्तारै ढल्किंदै गएको अवस्थालाई व्यक्त गर्छ।
यी दुई गीतको सफलताले देवेन्द्र बब्लुलाई सांगीतिक उचाइ प्रदान गर्नुका साथै नेपाली संगीत क्षेत्रमा उनको अलग पहिचान स्थापित गरिरहेको छ।
यसअघि उनले गाएका ‘मन माया,’ ‘मायालु,’ ‘म हाँसे हाँस्छौ र,’ ‘म त पर्खेको पर्खै छु,’ ‘सेती दोभाना,’ ‘तिमी मैसँग भैराख है,’ ‘भेटै हुन्न कि,’ ‘परान’ जस्ता गीतहरू पनि श्रोतामाझ लोकप्रिय बनिसकेका छन्।
यी सफलताबाट प्रेरित हुँदै बब्लुले आगामी दिनमा अझ उत्कृष्ट र श्रोताको मन जित्ने गीत पस्किनेमा ढुक्क हुन सकिन्छ।