चैत्र २२ गते शुक्रबारबाट नेपाल र विदेशमा एक साथ रिलिज हुने सिनेमा ‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ आइतबार रिलिज हुने भएको छ । भारतको गोवा र रसुवाको लाङटाङमा खिचिएको गीतको सार्वजनिक तस्वीरमा मुख्य अभिनेता प्रकाश सपुत र स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
सिनेमाका यसअघि सार्वजनिक प्रचार सामाग्री गीत संगीत, टिजर तथा ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गरेको छ । जसले गर्दा यो सिनेमालाई यस वर्षकै प्रतिक्षित सिनेमाको सुचीमा राखिएको छ । आइतबार सार्वजनिक हुने यो गीतमा गायक सुगम पोखरेल र गायिका समीक्षा अधिकारीले स्वर दिएका छन् । सिनेमा निर्देशक समेत रहेका अभिनेता सपुतको नै शब्द रचना तथा संगीत रहेको गीतमा योगेश काजी शाहको संगीत संयोजन छ ।

सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।