प्रदर्शनरत सुपर हिट नेपाली फिल्म ‘अञ्जिला’की प्रमुख कलाकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रवार बिहान काठमाडौँ उत्रेकी छन्। आफ्नै जीवनमा आधारित यस फिल्मको प्रचारका लागि उनी कतार एयरवेजको विमानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्।
चार दिनको नेपाल बसाइका लागि ग्रिसबाट नेपाल आएकी एन्जिलालाई फिल्म युनिटले भव्य स्वागत गरेको छ। शुक्रवार नै उनी काठमाडौँ उपत्यकाका विभिन्न हलहरूमा दर्शकसँग भेट्ने निर्देशक मिलन चाम्सले बताए। शनिवार पनि काठमाडौँमा रहने एन्जिला आइतबारदेखि भने पूर्वी तथा पश्चिम नेपालका हलहरूमा पुग्नेछिन्। उनी पोखरा, नेपालगन्ज, बिर्तामोड, धरान, इटहरी, चितवन र दाङका हलहरूमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको चाम्सले बताए।

निर्माता प्रेमकुमार श्रेष्ठले एन्जिलाको यो भ्रमण विशुद्ध फिल्मको प्रचारका लागि रहेको बताए। हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन्। यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन्। प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन्।
यस फिल्ममा एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
बिहीबारदेखि तेस्रो हप्ता प्रवेश गरेको यस फिल्मले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। यो फिल्मलाई दर्शकले मन पराइरहेका छन् र बक्स अफिसमा लगातार राम्रो कमाइ गरिरहेको छ।