अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जन्ते बाख्रो’को फर्स्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ।
सार्वजनिक पोस्टरमार्फत् फिल्म आगामी जेठ २३ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो। यो मितिमा अहिलेसम्म अन्य कुनै पनि फिल्मले प्रदर्शन मिति घोषणा गरेका छैनन्।
हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ, जबकि सौगातले निराश भावमा उनीहरूलाई हेरिरहेका छन्। उनीहरूका बीचमा चस्मा लगाएको बाख्रो देखाइएको छ। निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई ‘जन्ते बाख्रो’ का रूपमा चित्रण गर्न खोजेको बुझिन्छ। फिल्मको कथावस्तु पनि यसैको वरिपरि आधारित रहेको छ।
सिमोस सुनुवारको निर्देशनमा बनेको यस फिल्ममा सौगात, आशिफ, र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय रहनेछ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ। प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मका निर्माता सन्तोष गौतम हुन्।
फिल्मका डिओपी हरि हुँमागाई, सिनेमाटोग्राफर उत्तम हुँमागाई, सम्पादक सुनिल शिवभक्ती हुन् भने पोस्टर डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) ले गरेको छ। टिफल्क फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स निर्माण कम्पनी मुईन इन्टरटेनमेन्टले नै राखेको छ।
