फिल्म निर्माण कम्पनी अनन्या फिल्म्स प्रा.लि. ले मल्टिस्टारर फिल्म ‘जेरी अन टप’ को छायांकन सम्पन्न गरेको छ।
सोमबार हिमालपारिको जिल्ला मुस्ताङमा फिल्मको छायांकन पूरा गरेर कलाकारसहितको निर्माण टिम काठमाडौं फर्किएको छ।
यो फिल्ममा स्टार अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ, तथा चर्चित हाँस्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ प्रमुख भूमिकामा छन्।
‘फिल्ममा समावेश हुने दुई गीत बाहेकका सम्पूर्ण दृश्य छायांकन सकेर फर्किएका छौं,’ निर्माता सरोज न्यौपाने ले भने, ‘उत्कृष्ट फिल्म तयार गर्नका लागि आवश्यक कुनै पक्षमा सम्झौता गरिएको छैन।
’सिनेमाको छायांकन सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका स्थानमा गरिएको छ। केही दृश्य काठमाडौंमा झन्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको थियो।अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि यो फिल्ममा प्रमुख भूमिकामा छन्।
अनमोलका पिता, अभिनेता भुवन केसीले, ‘जेरी अन टप’ मा पनि अनमोलकै बुवाको भूमिका निभाएका छन्।बाल कलाकार हुँदै कलाकारितामा प्रवेश गरेका अनमोलले ‘स्टार’ को ट्याग पाइसक्दा, अनमोल र भुवनलाई एकसाथ स्क्रिनमा देख्न आतुर दर्शकका लागि यो फिल्म उपयुक्त अवसर बन्नेमा निर्माण टिम विश्वस्त छ।
कलाकारको लाइनअपदेखि छायांकनसम्म पुग्दा फिल्मको बजेट झन्डै ६ करोड पुगेको निर्माता न्यौपाने ले बताए।गत सातामात्रै यो फिल्मको अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार बिक्री भएको थियो। हङकङमा स्थापना भएको एलजी एसोसिएट्स ले ३ करोडभन्दा बढी एमजी (मिनिमम ग्यारेन्टी) मा ‘जेरी अन टप’ को विदेश राइट्स खरिद गरेको बताइएको छ।
यद्यपि, रकम भने दुवै पक्षले खुलाएका छैनन्।न्यौपानेले विदेश प्रदर्शन अधिकार बिक्री भएसँगै फिल्मको आधा लगानी ‘कभर’ भइसकेको जानकारी दिए।
सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन। वितरण कम्पनीसँगको सल्लाहमा केही दिनमै प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता न्यौपानेले बताएका छन्।
फिल्ममा समावेश हुने एक गीत नेपालमा र एक गीत भारतमा छायांकन गरिने निर्माण टिमले जनाएको छ।