ट्रेन्डिङमा ‘वसन्त’को ट्रेलर, पाइरहेछ यस्ता राम्रा प्रतिक्रियाहरु ट्रेन्डिङमा ‘वसन्त’को ट्रेलर,  पाइरहेछ यस्ता राम्रा प्रतिक्रियाहरु

गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशकीय सिनेमा ‘वसन्त’ को एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको थियो।

सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै यसको हाइप पनि बढेको छ। हालसम्म ट्रेलरलाई ४ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्।सार्वजनिक ट्रेलरले दर्शकको मन जितिरहेको कमेन्टबक्समा प्राप्त प्रतिक्रियाबाट बुझ्न सकिन्छ।

हाल ट्रेलर यूट्यूवको मुभिज सेक्सनको दोस्रो स्थानमा रहेको छ ।

अधिकांशले सिनेमाले नेपाली समाजको यथार्थ चित्रण गरेको प्रतिक्रिया दिएका छन्। ट्रेलर सार्वजनिक भएपछि यो युट्युबको ट्रेन्डिङमा समेत उक्लिएको थियो।

यो सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकको राम्रो साथ पाइरहेकाले ट्रेन्डिङको शीर्ष स्थानतर्फ विस्तारै पाइला बढाउँदै गएको छ। हालसम्म ट्रेलरले ४ लाख ५० हजार भ्युजको निकट सहित २४ हजार लाइक र ३ हजार ५ सयभन्दा बढी प्रतिक्रिया प्राप्त गरेको छ।

ट्रेलर हेरेका अधिकांश दर्शक सिनेमा हेर्न व्यग्र प्रतीक्षामा रहेको प्रतिक्रियाबाट बुझिन्छ।

सिनेमाको ट्रेलरको कमेन्टबक्समा अमृत परियार ले लेखेका छन्, ‘मलाई लाग्छ, यो सिनेमाले मान्छेले मान्छेलाई हेर्ने नजरप्रति केही हदसम्म परिवर्तन गर्न सहयोग गर्नेछ। शुभकामना सम्पूर्ण टिमलाई।’

अर्का एक व्यक्ति सन्देश बिक ले लेखेका छन्, ‘एउटा सिनेमामा यति धेरै कथा समावेश रहेछ! यो ट्रेलर हेर्दा गोजबम्प्स आयो। धेरै शुभकामना प्रकाश दाइ!’यस्तै, कमेन्टबक्समा राम प्रसाद ले लेखेका छन्, ‘प्रत्येक डाइलगमा एउटा गहिरो अर्थ लुकेको छ। हलसम्म तान्ने नै भयो! दिमाग नै हल्लाउँछ त! वेस्ट अफ लक ‘वसन्त’ टीम, धेरै बधाई छ। यसपटक फेरि नयाँ अन्दाजको सिनेमा हेर्न पाइने भयो।’

अर्का फ्यान मदन बराइली लेख्छन्, ‘साँच्चिकै समाज सुधार हुनुपर्छ भन्ने सोच राख्ने कुनै पनि जातको मान्छेले यो सिनेमा अवश्य हेर्नेछ। म पनि परिवारसँग गएर हेर्ने हो। सिनेमा गजब बनेको जस्तो लाग्यो। सम्पूर्ण टिमलाई अग्रिम शुभकामना!’सिनेमाको ट्रेलरको कमेन्टबक्समा यस्तै ३ हजारभन्दा बढी प्रतिक्रिया हेर्न सकिन्छ।

यति मात्र होइन, दर्शकले सिनेमाका मुख्य कलाकार तथा डेब्यु निर्देशक प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्का को पनि उत्तिकै तारिफ गरेका छन्।

यसैले ‘वसन्त’ यस वर्षकै प्रतीक्षित सिनेमा मध्ये एक हो भन्नेमा दुईमत देखिँदैन।सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी को अभिनय रहेको छ।

गलबन्दी प्रोडक्सन को प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत निर्देशक सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदाय को छोराले लेखक बन्ने सपना देख्छ, र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ।

सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँहरूमा सिनेमाको छायांकन गरिएको हो।

सिनेमालाई सुसन प्रजापति ले छायांकन गरेका हुन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले सिनेमाको वितरण गर्नेछन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti