बाढी प्रभावित फिल्मकर्मीहरूलाई आर्थिक सहयोग प्रदान बाढी प्रभावित फिल्मकर्मीहरूलाई आर्थिक सहयोग प्रदान

नेपाली फिल्म क्षेत्रका विपन्न र पीडित फिल्मकर्मीहरूको हितमा कार्य गर्दै आएको फिल्मकर्मी कल्याणकारी कोषले पहिलोपटक बाढी प्रभावित फिल्मकर्मीहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ।

फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डीसी र फिल्म कर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले प्रत्येक पीडित फिल्म कर्मीलाई रु. ४५,००० को राहत प्रदान गरिएको जानकारी दिएका छन्।

विगतमा गम्भीर रोगी तथा आर्थिक रूपमा कमजोर फिल्म कर्मीहरूलाई मात्र सहयोग गर्दै आएको कोषले यस पटक प्राकृतिक प्रकोपबाट प्रभावित फिल्म कर्मीहरूलाई पनि सहयोग गर्ने ऐतिहासिक निर्णय गरेको हो।

यस योजनाअन्तर्गत नेपाल फिल्म कलाकार संघ, नेपाल फिल्म प्राविधिक संघ, र नेपाल फिल्म द्वन्द्व कलाकार संघका सदस्यहरू यादव सिटौला, शिवप्रसाद चोलागाईं, सन्तु तामाङ, कुल प्रसाद हुमागाईं, गोकुल हुमागाईं, ज्ञान बहादुर तामाङ, र फणिन्द्र बहादुर विकलाई राहत प्रदान गरिएको छ।

फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्म कर्मीहरूको हितका लागि बोर्ड निरन्तर क्रियाशील रहने बताएका छन्। उनले भने, “फिल्म कर्मीहरूको समस्या समाधान गर्न फिल्म विकास बोर्ड सधैं संवेदनशील छ। प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोग गर्न पाउनु हाम्रो दायित्व हो।”

फिल्म कर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले राहत वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै भनिन्, “फिल्म क्षेत्रका श्रमिकहरूको सुरक्षाका लागि कल्याणकारी कोषले आफ्नो जिम्मेवारी पूरा गर्दै जानेछ।”

नेपाली फिल्म क्षेत्रका श्रमिकहरूको हित र सुरक्षाका लागि कल्याणकारी कोषको यो महत्वपूर्ण कदम हो।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti