अमेरिकामा खिचिएको ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक अमेरिकामा खिचिएको ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक

रंगकर्मी विमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको पहिलो फिल्म ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ।

सार्वजनिक पोस्टरले फिल्मका मुख्य कलाकारलाई परिचित गराउनुका साथै फिल्मको विषयवस्तुलाई पनि विम्बात्मक रुपमा प्रस्तुत गरेको छ। औँठाछापको पृष्ठभूमिमा बनेको पोस्टरले विस्थापनको कथासँगै कलाकारका उदास आँखा र क्षितिजतर्फको दृष्टिमार्फत् चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गरेको छ।

‘हिउँको गीत’ मार्फत् फिल्म निर्देशनमा पाइला चालेका विमल सुवेदी थिएटर भिलेजमार्फत् देश विदेशमा अनेकौँ प्रयोगधर्मी नाटक गर्ने सर्जकको रुपमा परिचित सर्जक हुन्। उनले नेपाली नाट्य क्षेत्रलाई राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिनिधित्व गरेका छन्।

लामो समयदेखि नाट्य क्षेत्रबाट नै नेपाली कलाक्षेत्रलाई महत्वपूर्ण योगदान दिएका विमलले अध्यापन र धेरै फिल्मकर्मीहरुसँग सहकार्य गरिसकेका छन्। तर उनी सँधै रंगकर्मीको रुपमा चिनिन चाहन्छन्।

यस पटक भने उनले आफ्नै कथा, पटकथा तथा निर्देशनमा ‘हिउँको गीत’ तयार गरेका हुन्। उनी र थिएटर भिलेजका काम सँधै अरुभन्दा फरक हुने गर्छन्। उनले आफ्नो त्यो लिगेसी यो फिल्ममा पनि कायम राखेको छन् भन्ने कुरा उनको मोसन पोस्टरबाट स्पष्टै बुझ्न सकिन्छ। लेखनमा विमललाई साँघुरो फिल्मका निर्देशक जोयश पाण्डेले पनि सहकार्य गरेका छन्।

‘हिउँको गीत’मा वर्षा राउत, जोयस पाण्डे, आकाश खतिवडा, ईशिर कर्माचार्य र पूजा चन्द केन्द्रिय भूमिकामा रहेका छन्। फिल्मको ओहायो राज्यको क्लिभल्यान्ड र पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा छायांकन गरिएको हो। फिल्मलाई ह्याप्पी होम स्टुडियोजको लागि जोयश पाण्डे, विमल सुवेदी र समुन्द्र राज घिमिरेले निर्माण गरेका हुन्।

फिल्मले नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा सशक्त रुपले समेटेको विमल सुवेदीको भनाइ छ। फिल्ममा भुटान, नेपाल र अमेरिकामा जन्मेहुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा, पहिचानको संकट, संघर्ष, नेपाली भाषी भुटानीहरु माथि त्यतिबेलाको शासकले गरेको चरम अन्याय, अत्याचार, बर्बरता र चरम यातना समेटिएको सुवेदीले जानकारी गराए।

फिल्मलाई जिया कुइँकेल खतिवडा, करुण कुइँकेल, कौशिला खनाल कर्माचार्य, आकाश खतिवडा र मनोरथ खनालले कार्यकारी निर्माताको रुपमा र राकेश भट्टराई, रमेश लुइँटेल र पुण्य कुइँकेलले सह निर्माताको रुपमा निर्माणमा सघाएका छन्। ओहायो राज्यको एक्रोन, कोलम्बस, पेन्सिलभेनिया वरिपरिका नेपालीभाषी भुटानी समुदायको सहजीकरणमा तयार भएको फिल्मको निर्माणमा थिएटर भिलेज र गाउँ स्टुडियोको पनि सहकार्य रहेको छ। फिल्ममा थोमस किथ स्कट, केदार उप्रेती, आर बी खड्का, अर्जुन रसाइली, मनोरथ खनाल आदिको अभिनय रहेको छ।

फिल्ममा पेन्सलभेनियाको ह्यारिसबर्ग तथा ओहायोको कायाहोगा फल्स, एक्रोन, कोलम्बस, सनसाइन तेक्वान्दो तथा नृत्य एकेडेमी, इन्टा फाउन्डेसनका चार दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन्।

फिल्ममा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका फिल्मकर्मीले काम गरेका छन्। फिल्मलाई चिनइन गाउले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन्।

आयुषा सञ्जेल सहायक निर्देशक रहेको फिल्ममा दिकेश खड्गी शाहीको ध्वनि रेकर्ड तथा सम्पादन, देउकुमार राई नेतृत्व समूहको कला निर्देशन, शंकर बिसी र कौशिला खनाल कर्मचार्यको नृत्य निर्देशन रहेको छ। फिल्ममा कौशिला खनाल कर्मचार्य, आर. बी. खड्का, डम्बर नेपाली, प्रतिमा श्रेष्ठको शब्द, तथा कालिप्रसाद बास्कोटा, मदन गोपाल, डम्बर नेपाली, अर्जुन रसाइलीको संगीत तथा गायन रहेको छ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti