‘कर्मा’मा विपिनकी आमा बनेकी सरिता ‘कर्मा’मा विपिनकी आमा बनेकी सरिता

अभिनेत्री सरिता गिरीले फिल्म ‘कर्मा’ले नेपाली सिने नगरीमा रहेको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने दाबी गरेकी छन्।

अहिले आमाको चरित्र भन्नबित्तिकै जुन इमेज आमा दर्शक र फिल्मकर्मीको दिमागमा आउँछ, त्यो परिवर्तन ‘कर्मा’मा रहेको आमाको चरित्रले मेटाइदिने उनको भनाइ छ।

आमाको चरित्र भन्नबित्तिकै फिल्ममा सामान्य हुने गरेको र बुझाइ पनि त्यस्तै रहेको सरिता भन्छिन्। यो भाष्य ‘कर्मा’ले बदलिदिने उनको भनाइ छ।

सरिताले निर्देशक सौरभ चौधरीले आफूलाई फिल्ममा अफर गर्दा नै आफू इम्प्रेस भएको बताइन्। सौरभले आफूलाई आमा होइन, क्यारेक्टर चाहिएको भनेर अफर गरेको उनले बताइन्।

“उहाँ (निर्देशक सौरभ चौधरी)ले अफर गर्दा यो लाइनले नै मलाई टच गरेको थियो,” उनले भनिन्, “फिल्ममा आमा चाहिएको होइन, क्यारेक्टर चाहिएको हो भन्नुभएको थियो। सिनेमामा पनि त्यस्तै छ।”

आफूले अहिलेसम्म थुप्रै फिल्ममा आमाको क्यारेक्टरमा काम गरे पनि ‘कर्मा’मा भने फरक खालको चरित्र रहेको उनको दाबी छ। आफूले चरित्रमा काम गर्न मन पराउने र ‘कर्मा’को आमाको क्यारेक्टर पनि त्यस्तै रहेको उनले बताइन्।

“मैले अहिलेसम्म आमाको चरित्र धेरै गरेँ होला। तर, कर्मामा आमाको चरित्र मात्रै छैन,” उनी भन्छिन्, “यसमा आमासँग सँगै धेरै कुरा छ। यसमा निर्देशकले यो क्यारेक्टरलाई यसरी चलाउनुभयो, अहिलेसम्म चलेको आमाको ट्यागलाइन यो फिल्म रिलिज भएपछि हट्नेछ।”

‘कर्मा’मा सरिता गिरी विपीन कार्कीको आमाको भूमिकामा छिन्। फिल्ममा विपीन र सरितासँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको पनि अभिनय रहेको छ।

नयाँ वर्ष २०८२ को छेको पारेर फिल्म ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ। नेपाल र विदेशमा यो फिल्म एकसाथ प्रदर्शन हुनेछ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण गरिएको छ। सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ।

यो फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ। आर्टिस्टिक इन्टरटेनमेन्टले निर्माण गरेको यो पहिलो सिनेमा हो।

निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti