चैत्र ८ गते शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन) निर्माण टिम यतिवेला प्रचार प्रसारमा व्यस्त छ। फिल्मका सार्वजनिक प्रचार सामग्रीले दर्शकको विश्वास जितेकाले निर्माण टिम उत्साहित देखिन्छ।
फिल्मका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेब्यु अभिनेता सागर खनाल अहिले विभिन्न मिडियामा पुगेर धेरैभन्दा धेरै दर्शकलाई फिल्मको बारेमा जानकारी दिन लागि परेका छन्। उनीहरू ‘११ः५५’ क्राइम थ्रिलर जनरामा निर्माण भएको एउटा सुन्दर फिल्मका रूपमा दर्शकलाई आकर्षित गरिरहेका छन्। यो फिल्मका प्रचार सामग्री – पोस्टर, टिजर, गीत र ट्रेलरमा प्राप्त प्रतिक्रियाले दर्शक उत्सुक रहेको बुझ्न सकिन्छ।
फिल्मकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठले आफूले हरेक फिल्ममा फरक क्यारेक्टर गर्दै आएकाले ‘११ः५५’ को भूमिकालाई पनि रुचाइनेमा आशावादी देखिइन्।
उनी यो फिल्ममा एक विवाहित महिलाको भूमिकामा देखिएकी छन्। फिल्म थ्रिलर जनरामा निर्माण भएकाले पनि आफू काम गर्न तयार भएको बताइन्। यो उनको मनपर्ने जनरा समेत रहेको खुलाइन्। यो फिल्मको कथा एक रात ११ः५५ मा घटेको घटनाको वरिपरि घुम्ने उनले जानकारी दिइन्।
सामान्य दर्शकको रूपमा फिल्मको स्क्रिप्ट पढ्दै गर्दा रमाइलो लागेकाले फिल्ममा काम गर्न तयार भएको उनले बताइन्। ‘आजसम्म मैले एक किसिमको क्यारेक्टर गरिरहेको थिए। मेरो लागि यो फिल्मको क्यारेक्टर समेत फरक लागेको थियो। यो क्यारेक्टरको एउटा साइकोलोजिकल ग्राफ अनि लुक वाइज पनि फरक थियो। त्यही भएर पनि म यो फिल्ममा काम गर्न तयार भएकी थिए,’ उनले भनिन्।
फिल्मकी अर्की मुख्य अभिनेत्री करिष्मा श्रेष्ठले फिल्ममा आफ्नो ‘ग्रे’ क्यारेक्टर रहेको बताएकी छन्। ‘फिल्ममा मेरो ‘ग्रे’ क्यारेक्टर छ। मैले यसअघि यस्तो क्यारेक्टर कहिल्यै गरेको थिइनँ। यस्तो क्यारेक्टर गर्छु भनेर मैले सोचेको पनि थिइनँ। त्यो क्यारेक्टर निभाउन निकै चुनौती भयो। मलाई चुनौती मन पनि पर्छ। मेरो क्यारेक्टर दर्शकमा नोटिस हुन्छ भन्नेमा विश्वस्त छु,’ उनले भनिन्।
फिल्मले ११ः५५ बजे भएको ‘मर्डर’मा कथालाई केन्द्रित गरेको छ। ‘११ः५५ बजे एउटा मर्डर हुन्छ। फिल्मको कथा नै त्यसैको वरिपरि घुमेको छ। फिल्ममा फरक-फरक क्यारेक्टर छन् र हरेकले आफ्नै हिसाबले जीवन बाँचेका छन्। त्यही बीचमा अचानक एउटा हत्या हुन्छ र त्यसमा सबैजना संलग्न भएका हुन्छन्। अनि त्यसैको अनुसन्धानमा फिल्म घुम्छ। प्रत्येक १५ मिनेटमा ट्विस्ट आउँछ, जसले दर्शकमा फिल्मप्रति उत्सुकता जगाउन सक्छ,’ उनी भन्छिन्।
फिल्मका मुख्य अभिनेता महेश त्रिपाठी पनि फिल्मलाई लिएर उत्साहित देखिन्छन्। नेपालमा कमै मात्र बन्ने जनरा क्राइम थ्रिलरमा फिल्म निर्माण भएकाले पनि आफू काम गर्न तयार भएको थिए। योसँगै फिल्ममा को मुख्य भूमिका हो भन्ने छैन। फिल्ममा काम गरेका सबै कलाकार नै मुख्य भूमिकामा भएकाले काम गर्न निकै मज्जा आएको उनको अनुभव छ। जसरी हामीले छायांकन सेटमा काम गरेका थियौं, त्यसरी नै हलमा फिल्म हेर्न पनि मज्जा आउने विश्वास उनको छ।
यो फिल्मबाट अभिनेता सागर खनालले पनि नेपाली रजतपटमा डेब्यु गर्दैछन्। आफूले डेब्युको प्रेसर नलिएको उनले बताए। ‘मैले आजको दिनसम्म आउन निकै संघर्ष गरेको छु। यो कुराका लागि अलिकति रेडी पनि थिए। फिल्म डेब्यु तयारीको लागि समय पनि लिए। झ्वाट्टै आइहालेको पनि होइन। कलेज पढ्नु पर्छ, बुझ्नु पर्छ भनेर पहिल्यै थाहा पाएर तयारी गरेर नै आएकाले पनि मैले डेब्युको प्रेसर नलिएको हुँ,’ अभिनेता सागर खनालले भने।
क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन्। यो उनको डेब्यु निर्देशकिय फिल्म हो। फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ।
अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले फिल्ममा प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन्।
बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। फिल्ममा सागरसहित महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन्। फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन्। फिल्मलाई कुवेर सिने डिस्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।
