काठमाडौं – आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘खेल’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा रहेका छन्।
रोयल भीमसेनले डिजाइन गरेको पोस्टर रहस्य र डरलाई उजागर गर्ने गाढा निलो र कालो रङको संयोजनमा तयार गरिएको छ। यसको अगाडिको भागमा स्कुले विद्यार्थीहरूको छवि र पृष्ठभूमिमा रहस्यमय वातावरण देखाउने आँखाहरूको डरलाग्दो छाया देखिन्छ। पोस्टरमा चन्द्रमाको चित्र पनि समावेश गरिएको छ, जुन कथाको रहस्यमय पक्षसँग सम्बन्धित छ। पोस्टरमा हेडफोन लगाएकी अभिनेत्री सुरक्षा पन्त चलचित्रकी प्रमुख पात्र रहेको जनाउँछ। ‘खेल’ शीर्षकलाई पनि फरक शैलीमा डिजाइन गरिएको छ।
‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन्। यसको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा आधारित रहेको छ। चलचित्रले काठमाडौंको होस्टेलमा बसेका चार साथीहरूको कथा प्रस्तुत गर्नेछ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ। यसमा किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतका कलाकारहरूको अभिनय रहेको छ।
यो चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो। निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह-निर्माताहरू कुणानराज गुरुङ र रहिशराज महर्जन रहेका छन्। चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन्। संवाद विष्णु गैरेले लेखेका छन्।
चलचित्रको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन्। ध्वनि डिजाइन विकल प्रधान, रङ संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका छन्। प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन्। चलचित्रको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ।
