पाकिस्तानी गजल गायक उस्ताद गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा रहेको गजल ‘गजल उनकै, गीत उनकै’को भिडियो सार्वजनिक भएको छ। गजलमा मनोज खड्काको शब्द र मिलन मोक्तानको संगीत रहेको छ।
गजलको भिडियोमा केही दिनअघि ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रमका दृश्य समेटिएका छन्। भिडियोमा गुलाम अली नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतदेखि कार्यक्रमको प्रमुख झलकहरूलाई स्थान दिइएको छ। प्रज्ञा साउण्ड रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा किरण कँडेलको एरेन्ज रहेको छ। गजल तयार गर्न दीप तुलाधरले मुख्य सल्लाहकारको भूमिका खेलेका छन्।
गजलकार मनोज खड्काले उस्ताद गुलाम अलीका तीन पुस्ताले रेकर्ड गरेको यो हालसम्मकै पहिलो ऐतिहासिक गजल रहेको बताएका छन्। भिडियोमा गजल तयार पार्दाका दृश्यहरूलाई पनि समेटिएको छ।
भिडियो ‘मनोज खड्का अफिसियल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतकार खड्काका केही कर्णप्रिय गीतहरू पहिले नै बजारमा आइसकेका छन्। रामकृष्ण ढकालको स्वरमा ‘गाउँघरले सोध्यो परदेशीलाई’, प्रमोद खरेल र त्रिशला गुरुंगको स्वरमा ‘तिमी जे बन, उदाहरण बन’ तथा मेनुका पौडेलको स्वरमा ‘तेजस्वी अप्सरा’ जस्ता गीतहरूले नेपाली श्रोता-दर्शकमाझ राम्रो लोकप्रियता हासिल गरेका छन्।