फिल्म ‘बलिदान’ को प्रमुख नारी पात्रमध्ये एक ‘किरण’ पात्रको लुक सार्वजनिक गरिएको छ । यस पात्रमा नव अभिनेत्री कविता रायले अभिनय गरेकी छन् । पोस्टरमा ’किरण’ पात्र एक हिंसात्मक र सङ्घर्षपूर्ण अवस्थामा देखिन्छिन् । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ । उनको एक आँखा मात्र स्पष्ट देखिने गरी फ्रेम गरिएको छ । समग्रमा पोस्टरले एक महिला पात्रको सङ्घर्ष, हिंसा, प्रतिरोध, र बलिदानको कथा भन्न खोजेको स्पष्ट छ ।

निर्देशक सन्तोष सेनले ’बलिदान’मा राज्यको मूलधारबाट किनारिएको एउटा वर्ग र त्यो वर्गको वस्तुस्थिति काल्पनिक रूपमा तर नेपालको यथार्थसँग मेल खाने किसिमले तयार पारेको बताए, जुन वर्गलाई उनले यस चलचित्रमा ’भिल्ला’ वर्ग नाम दिएका छन् र त्यो समुदाय बस्ने स्थानलाई ’भिल्लमगढ’ नामाकरण गरेका छन् । सो वर्ग नेपालको तराई क्षेत्रका समुदायसँग मिल्दोजुल्दो छ।
फिल्ममा अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् । साथै, अनुभवी कलाकारहरू सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको समेत फिल्ममा अभिनय छ । ‘आसुसेन फिल्म्स् प्रा.ली.’ को प्रस्तुति रहेको फिल्म अगामी दशैंको फूलपातीबाट रिलिज हुँदैछ । फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन् ।