यही फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएसँगै दर्शकको उच्च प्रतिक्रिया पाइरहेको छ । शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा सार्वजनिक गरिएको यो ट्रेलर हाल नेपाल र कुवेतमा युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । त्यस्तै, यो ट्रेलर विश्वका विभिन्न १३ देशहरूमा ट्रेन्डिङमा रहन सफल भएको छ ।
नेपाल र कुवेतमा पहिलो स्थान हासिल गरेको यस ट्रेलरले विशेष गरी खाडी मुलुकहरू, युरोपियन देशहरू, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा यसको उल्लेखनीय प्रभाव देखिएको छ । कतारमा दोस्रो, पोर्चुगलमा तेस्रो, साउदी अरेबियामा चौथो, रोमानिया र संयुक्त अरब इमिरेट्स (ग्ब्भ्) मा पाँचौँ स्थान ओगट्न सफल भएको छ । यस्तै जापान र अस्ट्रेलियामा सातौँ स्थान, माल्टामा पनि सातौँ स्थान, मलेसियामा एघारौँ स्थान, दक्षिण कोरियामा चौधौँ स्थान, र बेलायत (ग्प्) मा अट्ठाइसौँ स्थान ओगटेको छ ।
यो तथ्याङ्क हेर्दा नेपाली फिल्मको ट्रेलरले नेपाल बाहिर पनि व्यापक दर्शक वर्गलाई आकर्षित गर्न सफल भएको देखिन्छ । सम्भवतः यति धेरै देशमा नेपाली फिल्मको ट्रेलरको ट्रेन्डिङ पहिलो पटक हो र यो आफैँमा नेपाली फिल्मको इतिहासमा एक रेकर्ड हुनसक्छ ।
ट्रेलरले कलेज तथा होस्टेल जीवनका अनुभव, रमाइला क्षणहरू तथा चुनौतीपूर्ण परिस्थितिहरूलाई प्रस्तुत गरेको छ । ट्रेलरमा मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, र समा पराजुली देखिएका छन् । त्यस्तै, प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ प्रतिपक्षी भूमिकामा देखिन्छन् ।
‘होस्टेल’ फिल्म शृङ्खलाले अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन जस्ता कलाकारहरूलाई स्टारडम दिएको थियो । ‘होस्टेल ३’ले पनि नयाँ कलाकारलाई स्थापित गर्ने सम्भावना बलियो बनेको छ ।
चलचित्रको निर्देशन सशान कँडेलले गरेका छन्, जो दुई दशकदेखि सङ्गीत तथा म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् ।
ट्रेलरमा आकर्षक दृश्य, रोमाञ्चक कथा र युवा उमङ्ग झल्कने दृश्यहरू समेटिएका छन्, जसले दर्शकमाझ उत्साह बढाएको छ । ट्रेलरको सफलतासँगै ‘होस्टेल ३’ले पनि अघिल्लो सिरिजजस्तै युवा दर्शकलाई आकर्षित गर्ने अपेक्षा गर्न सकिन्छ ।