फिल्म ‘लाज शरणम्’ चलचित्र जाँच पास समितीबाट पास भएको छ । आइतबार बिहान फिल्मलाई सेन्सर वोर्डले ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेको हो ।
केही दृश्य सच्याउँदै फिल्मलाई प्रदर्शन अनुमति दिइएको बताइन्छ । फिल्म निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले फागुन १४ मा रिलिजका लागि बाटो खुलेको बताएका छन् ।
उनका अनुसार मन्त्रालयको कानुन शाखाले पाटन उच्च अदालतलाई सेन्सर बोर्डको निर्णयबारे जानकारी गराउनेछ ।
गत साता पूर्वमन्त्री अफ्ताव आलमले फिल्मको चरित्र चित्रणमा आपत्ति जनाउँदै रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै अदालतले सेन्सर अघि फिल्मको प्रचारप्रसारमा रोक लगाएको थियो । अफतावको मागबारे सेन्सर बोर्डले चर्चामा आएजस्तै कुनै व्यक्ति लक्षित दृश्य र संवाद फिल्ममा नरहेको बताइसकेको छ ।
अदालतमा मुद्दा अहिले पनि विचाराधिन छ । कुमार कट्टेल निर्देशित फिल्म शिवरात्री अवसरमा फागुन १४ मा प्रदर्शन तयारीमा छ ।
फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, अर्पण थापा लगायत अन्य कलाकारहरुको अभिनय छ ।