प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर फिल्म ’सोल्टिनी’को छायाङ्कन पुरा भएको छ । इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा चलचित्रको छायाङ्कन सकिएको हो । भोजपुरको अन्नपूर्ण गाउँमा भएको यसको ’इन्ड क्ल्याप’ दृश्यमा कलाकारहरू परीक्षा लिम्बु, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बाले अभिनय गरे ।
निर्देशक अर्जुन सुवेदीले फिल्म ‘सोल्टिनी’को छायाङ्कन समयमै सकिनुको मुख्य कारण पूर्व तयारी रहेको बताए । “सशक्त स्क्रिप्ट, अनुभवी कलाकार र कुशल प्राविधिक टिमकै कारण हामीले निर्धारित समयभित्रै छायाङ्कन सम्पन्न गर्न सफल भयौँ,” सुवेदी भन्छन्, “चलचित्रको प्रत्येक दृश्यलाई सुन्दर बनाउन हामीले छायाङ्कन स्थलको राम्रो अवलोकन गरेका थियौँ । इलाम बजारदेखि भोजपुरसम्मका विविध स्थानहरूको चयनले कथालाई जीवन्त बनाउन मद्दत गर्यो ।”
अब, ‘सोल्टिनी’को सम्पादन प्रक्रियामा टिम प्रवेश गर्नेछ । निर्देशक सुवेदीले दर्शकलाई फरक स्वादको कथासँग जोड्न चलचित्रले कुनै कसर बाँकी नराख्ने बताए । यस चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ । साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ ।
यस फिल्ममा प्रकाश र परिक्षा सँगै विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा रहेका छन् । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिका निभाउने चलचित्रको घोषणामा नै बताइएको थियो । यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेको हो ।
फिल्म सोल्टिनीलाई २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।