८ मिनेटको बाघको दृश्यका लागि ‘जार’ले खर्चियो सिंगो फिल्मको बजेट ! ८ मिनेटको बाघको दृश्यका लागि ‘जार’ले खर्चियो सिंगो फिल्मको बजेट !

फिल्म ‘जार’का मुख्य कलाकार सौगात मल्ल बाघसँग आमनेसामने हुन्छन्। स्क्रिप्टअनुसार उनले बाघको सामना गर्ने दृश्य छ।

इन्द्र बहादुर राईले लेखेको कथामा मुख्य पात्रलाई बाघले लतारेर लगेको दृश्य उल्लेख छ। यो दृश्य नराख्दा फिल्म नै अधुरो हुने सम्भावना थियो।

त्यसैले जसरी भए पनि यो दृश्य समावेश गर्नैपर्ने भयो। नराखिएको खण्डमा ‘जार’ कथा पढेका दर्शकले फिल्म हेर्दा अधुरो महसुस गर्ने निश्चित थियो।

यही कारण निर्देशक फुर्वा छिरिङ लामाले यो दृश्य राख्ने निर्णय गरे। तर, यसका लागि भिएफएक्सको विकल्प थिएन। त्यसैले उनले भिएफएक्स प्रयोग गर्ने निर्णय गरे।

“सुरुमा त मलाई लाग्यो, यो सम्भव होला र? किनभने कुनै पनि स्टुडियोलाई दिने हो भने यसको लागत कम्तीमा ८ देखि १० करोड रुपैयाँ पुग्थ्यो,” निर्देशक लामाले भने, “तर हामीले फ्रिलान्सर भिएफएक्स आर्टिस्टमार्फत काम गरायौँ।”

फ्रिलान्सर भिएफएक्स आर्टिस्ट प्रयोग गर्दा पनि करिब दुई करोड रुपैयाँ खर्च भएको निर्देशक लामाले बताए। उनका अनुसार, ३७ जना फ्रिलान्सर भिएफएक्स आर्टिस्टले लामो समय लगाएर बाघको दृश्य तयार गरेका हुन्।

८ मिनेट लामो उक्त दृश्यका लागि ‘गेम अफ थ्रोन्स’, ‘मिसन इम्बोसिबल’ जस्ता हलिउड फिल्महरूमा काम गरेका भिएफएक्स आर्टिस्टले काम गरेका थिए।

फिल्म ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ।

‘जार’ २२५ वर्ष पुरानो कथामा आधारित फिल्म हो। यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ।

इन्द्रबहादुर राईले सन् १८०० को दशकको पृष्ठभूमिमा कथालाई तयार पारेका थिए।

टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा आधारित भए पनि एक सम्पूर्ण प्याकेज भएको निर्देशक लामाको दाबी छ। त्यसैले ‘जार’ दर्शकको मन जित्नेमा उनी ढुक्क छन्।

फिल्म ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापा लगायतका कलाकारको मुख्य भूमिका छ।

होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको हो।

फिल्म ‘जार’का कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।

सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ। फिल्ममा झुमा लिम्बू र गंगा थापाको संगीत समावेश छ।

फिल्म ‘जार’ नेपाल, भारत लगायत अन्तर्राष्ट्रिय बजारमा एकैसाथ प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ। नेपालभित्र फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ भने अन्तर्राष्ट्रिय वितरकका रूपमा सेभेन सिज सिनेमा रहनेछ।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti