प्रतीक्षित नेपाली फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ।
मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
ट्रेलर सार्वजनिकसँगै चर्चित गायक सुजन चापागाईंको ब्यान्ड ‘सुजन चापागाईं एन्ड इन्फिनिटी’ले भव्य कन्सर्ट प्रस्तुत गरेको थियो, जहाँ पत्रकार, कलाकार तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
आर्टमाण्डू प्रा.लि.को पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको यथार्थवादी सामाजिक कथानक फिल्म हो। यसका निर्देशक नवीन चौहानले फिल्मको कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको बताए।
उनले फिल्म बनाउने सपना बोकेको क्षणदेखि ट्रेलर सार्वजनिक गर्नेसम्मको यात्रा निकै चुनौतीपूर्ण भए पनि त्यो सपना अब सयौँ जनाको बनेको बताए।
“मैले एउटा सिनेमाको संसार बनाउने प्रयास गरेको हुँ। सुरुमा म एक्लैले देखेको सपना अब सयौँ जनाको भएको छ,” चौहानले भने।
फिल्ममा मुख्य भूमिका निभाएका अभिनेता विपिन कार्कीले पाँचथरको यात्रालाई स्मरण गर्दै सबै पाँचथरे सहयोगीलाई धन्यवाद दिए। उनले आर्टमाण्डूका गीतहरूजस्तै यो फिल्म पनि उत्कृष्ट बनेकोले दर्शकको मन जित्ने कुरामा विश्वास गर्न अनुरोध गरे।
मुख्य अभिनेत्री मिरुना मगरले आफूले निभाएको फुलु गुरुङको पात्रबाट ‘ऊनको स्वीटर’जस्तै न्यानोपन दर्शकसम्म पुर्याउने प्रयास गरेको बताइन्। उनले यो फिल्म हेरेपछि आर्टमाण्डूले सुरु गरेको फिल्मको बेग्लै संसारमा पुगिने जनाइन्।
कलाकार भावना खपाङ्गी मगरले आफू फिल्मका रङ्गीचङ्गी धागोहरूमध्ये एक धागो भएको महसुस गरेको बताइन्।
कलाकार परीक्षा लिम्बूले एक वर्षपछि फेरि फिल्मको प्रचारमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै निर्देशक चौहानको क्यानभासमा काम गर्न पाउनु आफूका लागि भाग्यको कुरा भएको बताइन्।
कलाकार एलेक्स पारसले आफ्नो काम सबैसँग बसेर हेर्न पाउँदा आनन्द लागेको बताए भने सुरज तमुले यो फिल्म आफूका लागि रमाइलो र महत्त्वपूर्ण यात्रा बनेको बताए।
फिल्ममा गीत निर्देशक रहेका सुजन चापागाईंले लामो यात्राको क्रममा दुःख र सुखसँगै धेरै कुरा सिक्न पाएको अनुभव सुनाउँदै दर्शकको माया पाएको गीतजस्तै फिल्मलाई पनि माया गरिदिन आग्रह गरे।
‘ऊनको स्वीटर’मा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावना लगायत विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ।
सुजन चापागाईं र झुमा लिम्बुको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ।