यही वैशाख २६ (मे ९) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’को वर्ल्ड प्रिमियरका लागि कलाकारसहितको निर्माण टिम सिक्किम प्रस्थान गरेको छ। निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेता द्वय सौगात मल्ल र अनुपविक्रम शाही तथा गायिका एवं संगीतकार झुमा लिम्बुसहितको टिम मङ्गलवार बिहान त्यसतर्फ प्रस्थान गरेको हो।
फिल्मको वर्ल्ड प्रिमियर यही बुधवार गान्तोक, सिक्किममा हुँदैछ। यस प्रिमियरमा फिल्म, कला र साहित्यसँग सम्बन्धित दिग्गज व्यक्तित्वहरू, विभिन्न राजनीतिज्ञ, व्यापारी र समाजसेवीहरूको उपस्थितिमा भव्य कार्यक्रम आयोजना गरिएको निर्देशक लामाले जानकारी दिए। सिक्किमपछि मे ३ मा सिलिगुडी (सिलिगुरी) मा दोस्रो प्रिमियर तय गरिएको छ। स्थानीय दर्शक तथा शुभचिन्तकहरूसँगै फिल्म हेरेर कलाकार र निर्माण टिमले प्रत्यक्ष प्रतिक्रिया लिनेछन्। त्यसपछि दार्जिलिङमा पनि प्रचारात्मक कार्यक्रम आयोजना गरिनेछ।
यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ। फिल्ममा सौगात मल्ल र अनुपविक्रम शाहीसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख भूमिकामा छन्।
सरवनन इलावरसुको छायांकन रहेको फिल्म ‘जार’को सम्पादन अखिलेश राईले गरेका हुन्। होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन्।