नेपाली फिल्म उद्योगमा ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’ जस्ता सफल सोसल ड्रामा दिएका निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘के घर के डेरा : घर नं २’को प्रदर्शन मिति नजिक आइसकेको छ।
जेठ २ गतेदेखि प्रदर्शनमा आउने फिल्मले घर र डेराको कथा भन्नेछ। घर र डेरोमा बस्ने पात्रहरु कथा यो फिल्मले भन्नेछ । घर र डेराका कारण समाजले जबरजस्ती निर्धारण गर्ने सामाजिक हैसियतको कथाव्यथाबारे फिल्म बोल्नेछ।
निर्देशक खनालले घर र डेराको कारण जतिसुकै उचनीच व्यवहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको अन्त्यमा के पर्छ भन्नेबारे ‘के घर के डेरा : घर नं २’ले बताउने बताए।
घर र डेराको कथा भन्ने फिल्ममा को हो डेरावाल र को हो घरभेटी? फिल्मका बारेमा दर्शकमा उठ्ने यो एउटा स्वभाविक प्रश्न हो भने फिल्मको विक्री आधार पनि यही प्रश्नको उत्तर हुनेछ ।
फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन्। यस्तोमा को हो त घरभेटी अनि को हो डेरावाल?
हालसम्म सार्वजनिक भएका प्रचार सामाग्रीले यस प्रश्नको उत्तरलाई जिज्ञासाकै गर्भमा राखिरहेको छ ।
पोस्टरमा सबैको उस्तैउस्तै लुक्स देखिन्छ। एउटा पोस्टरमा खगेन्द्र साइकल डोर्याइरहेका छन्। टिजरले पनि खगेन्द्रलाई दुःखी पात्रका रूपमा देखाएको छ।
त्यसैले खगेन्द्र डेरावाल हुन् कि भन्ने सामान्य अनुमान गर्न सकिन्छ। यदि उनी डेरावाल हुन् भने, घरभेटी आर्यन हुन् कि निश्चल भन्नेबारे निर्देशकले केही जानकारी दिएका छैनन्।
यसका लागि जेठ २ को रिलिज मिति नै कुर्नुपर्ने हुन्छ ।
निर्देशक दीपेन्द्र के. खनालले यसको भेद नखोले पनि ‘के घर के डेरा : घर नं २’ सिक्वेल नभएको स्पष्ट पार्दै आफ्नो फिल्मले घर र डेरा कथा पेस गर्ने बताए। सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्। उनको यो पहिलो सिनेमा हो। उनको साहित्यिक ओजले पनि फिल्म पर्दामा प्रभावकारी हुने अपेक्षा गरिएको छ । यसै फिल्मले उनको फिल्मी लेखनको यात्रा तय गर्नेछ ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।
कृष्णबहादुर थापाले सिनेमाको छायांकन गरेका छन्। ‘के घर के डेरा : घर नं २’ का निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन्। कार्यकारी निर्माताका रूपमा युवराज कार्की छन्।