फिल्म ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ । विषय र प्रस्तुतिका हिसाबले ‘जार’ केही फरक रहेको निर्माण पक्षले जनाएको छ ।
‘जार’ २२५ वर्षअगाडिको कथामा आधारित बनेको फिल्म हो । यो विषय अहिले पनि यदाकदा अस्तित्वमा रहेको पाइन्छ । तर, हाल ‘जार’ प्रथा धेरै प्रचलनमा छैन ।
सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित फिल्म हो, ‘जार’ । यो फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित हो ।
इन्द्रबहादुर राईले सन् १८०० को दशकको विषयलाई आफ्नो कथाको आधार बनाएका थिए । त्यसैले सोही विषयमा ‘जार’ निर्माण गरिएकाले यो २२५ वर्ष पुरानो कथा भएको निर्देशक फूर्वा छिरिङ लामाले बताएका छन् ।
यो फिल्मले हाम्रो इतिहाससँगको साक्षात्कार गराउनुका साथै समाजमा हराउँदै गएका परम्परा र सम्बन्धका विविध पाटा देखाउने निर्देशक लामाले बताए ।
“मैले सानैदेखि सुन्दै आएको यो कथाले सधैं झक्झकाइ रहन्थ्यो । नेपाली समाजमा जस्तै नेपाली भाषी समुदायमा जहाँसुकै गए पनि एउटै भावना पाइन्छ,” निर्देशक लामाले भने । “‘जार’ ले हाम्रो समाजको भोगाइ, निर्दोषता र त्यतिबेला प्रचलित मितेरी साइनोलाई उजागर गर्छ ।”
‘जार’ ले इतिहास, संस्कृति र समाजलाई गहिरो रूपमा स्पर्श गर्ने भएकाले युवा पुस्तामाझ समेत प्रभाव पार्ने विश्वास निर्देशक लामाको छ । उनी भन्छन्, “हालका पुस्तामा यो विषय केही ओझेलमा परे पनि, त्यसबेलाको समाजमा यसको ठूलो प्रभाव थियो । फिल्म ‘जार’ केवल इतिहास सुनाउने माध्यम मात्र होइन, हाम्रो संस्कृतिको अदृश्य धागो भेटाउने प्रयास पनि हो ।”
फिल्म ‘जार’ ले एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउनेछ । कथाका पात्र ‘ठूली’ र ‘रुद्रमान’ मार्फत दर्शकले त्यसबेलाको प्रेम, सम्बन्ध र समाजको कठोर वास्तविकता देख्न सक्नेछन् । फिल्ममा देखाइने ‘मितेरी साइनो’ जस्ता सामाजिक परम्पराहरू अहिलेका नयाँ पुस्ताले थोरै मात्रै बुझेका छन् । ‘जार’ ले आजका दर्शकलाई पुरानो समाज र आजबीचको गहिरो सम्बन्ध बुझ्न मद्दत पुर्याउनेछ ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बनेको भए पनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ । त्यसैले ‘जार’ ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।
फिल्म ‘जार’ मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापा लगायतका कलाकारको मुख्य भूमिका छ ।
होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको हो ।
फिल्म ‘जार’ को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ । फिल्ममा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।
फिल्म ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ । नेपालभित्र फिल्म प्रदर्शनको लागि एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमाले गर्ने छ ।