आगामी वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने नेपाली फिल्म ‘ऊनको स्वीटर’को प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन, यस फिल्मका गीत निर्देशकसमेत रहेका चर्चित गायक सुजन चापागाईँ प्रमुख कलाकारहरूसहित देशभरका दर्शकहरूसँग प्रत्यक्ष भेटघाट तथा साङ्गीतिक कार्यक्रममार्फत संवादमा उत्रने भएका छन्।
‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ शीर्षकमा पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। सुजनसँगै फिल्मका प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई र निर्देशक नवीन चौहानको विशेष उपस्थिति रहनेछ।
पोखराको लेकसाइडस्थित हल्लनचोकमा आज अपराह्न ४ बजेबाट सुरु हुने कार्यक्रम ‘ऊनको स्वीटर साँझ’ प्रचार नेपाल, पोखराको व्यवस्थापनमा आयोजना हुँदैछ। उक्त कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र फिल्मका कलाकार एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् भने, सुजन चापागाईँले ‘फूल’ गीतमा एकल प्रस्तुति दिनेछन्।
त्यस्तै, झलकमान गन्धर्वको जन्मजयन्तीको अवसर पारेर, गन्धर्व परिवारको उपस्थितिमा सुजनले झलकमानका गीतमार्फत श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।
त्यसैगरी, धरानको रंगशालामा वैशाख १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रम ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ मा सुजनको ‘द इन्फिनिटी ब्यान्ड’ले साथ दिनेछ। कार्यक्रममा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बु र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति रहनेछ।
हालै सार्वजनिक भएको फिल्मको गीत ‘काफ्ले’ सामाजिक सञ्जालमा निकै चर्चामा छ। यसअघि सार्वजनिक भएका ‘फूल’ र ‘मखमली’ गीतले पनि राम्रो लोकप्रियता कमाएका छन्।
फिल्मको ट्रेलर भने काठमाडौंमा वैशाख १६ गते साँझ ४ बजे सार्वजनिक गरिने तयारी छ।