नायक पल शाहको यस वर्ष रिलिज हुन लागेको पहिलो चलचित्र हो ‘मोहर’। निर्माण पक्षले यस फिल्मलाई साउन २३ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरिसकेको छ।
फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा निर्माण भएको यस चलचित्रमा ओम प्रतीकको लेखन र निर्देशन रहेको छ। फिल्मका निर्माता चुम्बनजङ्ग शाही हुन्। चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजङ्ग शाही, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, सुशील देवकोटा, र बाल–कलाकार सारा शर्माको अभिनय रहेको छ।
निर्माण पक्षले चलचित्रका मुख्य नायक पल शाहको केही तस्वीरहरू सार्वजनिक गरेको छ, जहाँ उनी लामो कपाल र भरुवा बन्दुक सहितको अवतारमा देखिएका छन्। यो गेटअपले दर्शकमाझ उनको भूमिकाप्रति कौतूहलता बढाएको छ।
दीपेन बस्न्यातको छायांकन (DOP) रहेको यस चलचित्रमा कुमार महर्जनको एक्सन निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एस.डी. योगीको संगीत, तथा प्रमोद ढुंगाना र हर्क साउदको शब्द समावेश गरिएको छ।
चलचित्रका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् भने नृत्य निर्देशन कविराज गहतराज र रामजी लामिछानेले गरेका छन्। निर्माण नियन्त्रकको भूमिका लक्ष्मणराज पौडेलले सम्हालेका छन्। चलचित्रको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको हो।
फिल्म र आफ्नो भूमिकाका विषयमा पल शाह निकै उत्साहित देखिन्छन्। उनका अनुसार, यसपटक दर्शकले उनलाई पूर्ण रूपमा फरक गेटअपमा देख्न पाउनेछन्। यद्यपि, फिल्मको कथावस्तुबारे निर्माण पक्षले हालसम्म केही खुलासा गरेको छैन।