प्रदर्शनको ५१ औं दिन मनाउँदै ‘लाज शरणम्’ प्रदर्शनको ५१ औं दिन मनाउँदै ‘लाज शरणम्’

फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ। शिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको यो फिल्म आजबाट ५१औँ दिनमा प्रवेश गरेको हो।

उच्च शो सहित प्रदर्शन सुरु गरेको फिल्ममा अहिले पनि उपलब्ध शोहरूमा दर्शकको अकुपेन्सी उच्च रहेको छ। यो फिल्मले १३ वटा हलहरूमा प्रदर्शनको ५१औँ दिन मनाएको हो।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ले काठमाडौं उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी सिनेमा तथा मोफसलतर्फ झापाको विर्तामोडस्थित क्युएफएक्स, दमकस्थित डिम्याक्स सिनेमाज र बुटवलस्थित आइएनआई सिनेमाजमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए।

“हाम्रो फिल्म ‘लाज शरणम्’ ५१औँ दिनमा प्रवेश गरेको छ,” निर्माता श्रेष्ठले भने, “दर्शकको राम्रो प्रतिक्रियासहित अहिले पनि उच्च अकुपेन्सीमा चलिरहेको छ।”

पहिलो दिनमै १ करोड १० लाख रुपैयाँ ग्रस कलेक्शन गरेको ‘लाज शरणम्’ले हालसम्म ५ करोड रुपैयाँ ग्रस कलेक्शन गरेको निर्माता श्रेष्ठले जानकारी दिए।

फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी, अर्पण थापा मुख्य भूमिकामा छन्।

त्यसैगरी, फिल्ममा कमलमणि नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बु, प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामतलगायत कलाकारको अभिनय छ।

कर्णालीको कथाव्यथा प्रस्तुत गरेको ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन्।

सुदीप बराल छायाँकार रहेको फिल्मका सहनिर्माता राम नरेश शाह र सिर्जना खड्का हुन्।

चर्चित हास्य सिरियल ‘सक्किगोनी’ समूहद्वारा निर्माण गरिएको यो पहिलो फिचर फिल्म हो।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti