अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी’को सिक्वेल निर्माणको घोषणा गरिएको छ।
सोमबार, नेपाली नयाँ वर्षको दिन, फिल्मको फर्स्ट लुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो।
फिल्मको निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देखाइएको छ। यस फिल्मलाई Song of Chyabrung भन्ने स्लोगन दिइएको छ।
‘जारी २’ मा सन् २०८० को ब्लकबस्टर फिल्म ‘जारी’कै निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहनेछ। फिल्म यही वर्षको दशैंमा रिलिज गरिने पोस्टरमा उल्लेख छ।
कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको डेब्यु फिल्म ‘जारी’ले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। वैशाखको तेस्रो साताबाट फ्लोरमा जान लागेको ‘जारी २’ मा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण हुने यो फिल्मलाई रामबाबु गुरुङले निर्माण गर्नेछन्। फिल्मको सम्पूर्ण छायांकन पाँचथरका विभिन्न पर्यटकीय गन्तव्यहरूमा गरिनेछ।
