चर्चित साहित्यकार इन्द्र बहादुर राई लिखित ‘जार’ कथामा आधारित सोही नामको फिल्मको ट्रेलर आज राजधानीमा एक कार्यक्रममा सार्वजनिक गरियो।
ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्ममा केन्द्रीय भूमिका निभाएका सौगात मल्ल र अनुपविक्रम शाही दुबैजना उपस्थित थिए। ट्रेलर रिलिजपश्चात भएको प्रश्नोत्तरका दौरान हालसम्म अविवाहित रहेका अनुपलाई ‘जार बन्न तयार हुनुहुन्छ?’ भन्ने आशयको प्रश्न सोधिएको थियो।
यो रमाइलो प्रश्नको जवाफ के दिने भनेर अनुप एकछिन रोकिएजस्तो भए, तर त्यसपछि उनी ‘हा हा हा’ गर्दै अट्टाहासपूर्ण हाँसो हाँसे र जवाफ दिए, “पहिलो कुरा, म अरुको श्रीमती हेर्दै हेर्दिन। मलाई मेरो आफ्नो श्रीमती नै मनपर्छ होला भविष्यमा, नभए म बिहे नै गर्दिनथें। जारसरमाचाहीं म हुँदिन होला।”
अनुप पछि यो प्रश्नको सामना सौगातले पनि गर्नुपर्यो। उनले प्रश्नलाई सहजै पन्छाउँदै भने, “यो कुरामा धेरै दिमाग नलागाइराखुम होला। मेरो पनि यसमा अनुपले जे भन्यो त्यही हो।”
अनुप यो फिल्ममा सौगातकै सिफारिसमा अनुबन्धित भएका हुन्, अन्यथा अनुपका बारेमा यसका निर्देशक फूर्वा छिरिङ लामा खासै केही जानकारी थिएन। उनले अनुपको फिल्म पनि हेरेका थिएनन् र चिनेका पनि थिएनन्। उनले सौगातको सिफारिसमा भरोसा गर्दै ‘जार’ मा अनुपलाई काम गराएका थिए।
अनुपले पनि आफ्नो कामले खुशी पारे।
फिल्म वैशाख २६ गते रिलिज हुँदैछ।