गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’ दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित देश तथा विदेशमा एक साथ प्रदर्शन भैरहेको छ। यसैबीच, फिल्ममा समावेश गीत ‘मोटर’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतलाई फिल्ममा कथा वाचनको रुपमा प्रस्तुत गरिएको छ।
मंगलबार सार्वजनिक फिल्मको यो गीतमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन्। यो गीतमा गायक सपुकै स्वर, शब्द रचना तथा कम्पोज अनि योगश काजी शाहको एरेञ्ज रहेको छ। फिल्मको मंगलबार सार्वजनिक गीतले व्यापारमा समेत फाइदा गर्ने अपेक्षा निर्माण टिमको छ। निर्देशक तथा गायक सपुतले फिल्मको भाव अनुसार नै ‘वसन्त’को गीत ‘मोटर’ तयार गरेका बताए।
यता, फिल्मको निर्माण टिमले सोमबार कमलपोखरी स्थित सिटी सेन्टरमा अवस्थित बिग मुभिजमा स्पेशल स्क्रिनिङको समेत आयोजना गरेको थियो। जहाँ अभिनेत्री केकी अधिकारी, निर्देशक नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेता पृथ्वीराज प्रसाई, नृत्य निर्देशक शंकर बिसी, गायक तथा संगीतकार खेम सेञ्चुरी लगायतका फिल्मकर्मी र पत्रकारले स्पेशल स्क्रिनिङमा फिल्म हेरेका थिए। फिल्म हेरिसकेपछि अधिकांशले निर्देशक तथा अभिनेता प्रकाश सपुतको कथा भन्ने शैली र समाजको यथार्थ चित्रण गरेको भन्दै ‘वसन्त’को तारिफमा शब्द खर्चिए।
‘वसन्त’ हेरिसकेपछि अभिनेत्री केकी अधिकारीले मिडियाको कुराकानीमा हामी अहिले जुन समाजमा छौं, त्यहाँ अहिले पनि विभिन्न किसिमका विभेदहरु व्याप्त रहेको बताइन्। ‘समयले धेरै कोल्टे फेरि सक्यो। हामीले धेरै चिज देखी सक्यौं। अहिले पनि परिवर्तनका कुरा गर्दै गर्दा खेरी अझै पनि यो चिज चाहीँ वर्गीय हिसाबले होस्, जातीय हिसाबले होस्, अन्य अरु हिसाबले नै किन नहोस् यस्ता खालका विभेद समाजमा व्याप्त छन्। वसन्तमा एउटा सानो केमियो गर्न पाएकोमा खुशी छु,’ उनले भनिन्। ‘प्रकाश सपुत जीका हरेक सिर्जनामा समाजका कथा देख्न पाइन्छ। यसमा पनि त्यही कुरा हेर्न पाउँदा खुशी लाग्यो।’
गत चैत्र २२ गते शुक्रबारबाट नेपाल र विदेशमा एक साथ रिलिज भएको फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले देखाएको छ। फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र बिरेन्द्र नारायण श्रेष्ठ छन्।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा फिल्मको छायांकन गरिएको हो। गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यू निर्देशकिय फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन्।