दर्शकलाई ‘वसन्त’ले दिएको छ यस्तो सरप्राइज दर्शकलाई ‘वसन्त’ले दिएको छ यस्तो सरप्राइज

गत चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनमा आएको प्रकाश सपुतको डेब्यु निर्देशनमा बनेको सिनेमा ‘वसन्त’ले सुखद व्यापार गरिरहेको छ। दर्शकबाट सिनेमालाई उत्कृष्ट वर्ड अफ माउथ मिलेको छ। सिनेमाले उठाएको विषयवस्तु, गीतसंगीत पक्ष र प्रस्तुतिको प्रशंसा दर्शकले गरिरहेका छन्।

यो सिनेमा हेर्न पुगेका दर्शकहरूलाई प्रकाशले केही सरप्राइज पनि दिएका छन्, जसमा महानायक राजेश हमाललगायतका केही चर्चित कलाकारलाई दर्शकले देख्न पाउँछन्। महानायक हमाललाई धेरैपछि सिनेमाको पर्दामा देख्दा दर्शकहरू सरप्राइज हुन्छन्। महानायक हमालसँगै अभिनेता दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, र अभिनेत्रीहरू करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, र सुरक्षा पन्तलाई सिनेमाको पर्दामा देख्न सकिन्छ।

उनीहरूसँगै सिनेमा मा लोकदोहोरीकी चर्चित गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी पनि छन्। ‘वसन्त’ मा यति धेरै चर्चित कलाकारहरूको अभिनय भए तापनि निर्देशक तथा अभिनेता प्रकाश सपुतले प्रदर्शन अघि यसको बारेमा कुनै पनि जानकारी दिएका थिएनन्। सिनेमा रिलिजपछि यी कलाकारहरूको दृश्यको भिडियो क्लिप टिकटकमा भाइरल भइरहेका छन्।

कतिपयले भनेका छन् कि यति धेरै कलाकारहरूको विशेष भूमिकामा देखिनु, तर निर्देशक तथा अभिनेता प्रकाशले प्रदर्शन अघि किन खुलाउन चाहेनन् भन्ने चासो समेत सार्वजनिक फेसबुक रिल्स र टिकटकमा व्यक्त गरिएको छ। प्रदर्शन अघि यी कलाकारहरूको बारेमा जानकारी दिइएको भए यसले सिनेमाको व्यापारमा असर पार्ने धारणा दर्शकहरूको छ। यी कलाकारहरूको भूमिका कस्तो छ र कति महत्त्वपूर्ण छ, त्यो भने हलमा सिनेमा हेर्न पुगेका दर्शकले महसुस गर्छन्।

सिनेमा ‘वसन्त’मा प्रकाशसहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ। मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता हुन् भने कार्यकारी निर्माता बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई, र नाना थकाली छन्।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti