हाल छायांकन भइरहेकाे फिल्म ‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ।
विगत केही सातादेखि यो फिल्मको छायांकन जुम्लामा भइरहेको छ। काठमाडौंमा केही दिन छायांकन गरेपछि निर्माण पक्ष जुम्ला पुगेको हो।
फिल्ममा अर्पण थापाको लुक्सले दर्शकमाझ कौतुहलता बढाउने देखिन्छ। यद्यपि, निर्माण पक्षले फिल्ममा उनको भूमिका के हो भन्ने खुलाएको छैन।
फिल्मका निर्माता किरण नेपालीका अनुसार, अब एक साता भित्र छायांकन सकिनेछ।
लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेकाे यस फिल्ममा हिमाल कडरिया र अमलादेवी राइको लगानी छ। महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माता हुन्।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, र बेगम नेपालीलगायतको अभिनय रहनेछ।
निसाल पौडेलको छायांकन रहेको यस फिल्मको प्रदर्शन मिति भने अझ तय गरिएको छैन। निर्माण पक्षले छायांकनकै क्रममा अर्पण थापाको लुक्स सार्वजनिक गर्नु आफैंमा कौतुहलताको विषय बनेको छ। अर्पणले यसअघि यस्ताे लुक्समा काम गरेका थिएनन्।
लक्ष्मण सुनारको निर्देशनमा फिल्म तयार भइरहेको हो।



