फिल्म ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ
काठमाडौंको बूढानीलकण्ठमा आज बिहान जनै हराएको बाहुन फिल्मको शुभमुहूर्त गरिएको हो।
शुभमुहूर्तमा फिल्मका अधिकांश कलाकार उपस्थित थिए। बूढानीलकण्ठ मन्दिर परिसरमा भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिएका थिए।
निर्माण पक्षले जानकारी दिएको अनुसार, भोलिबाट फिल्मको छायांकन सुरु हुनेछ। यसअघि फिल्मको स्क्रिप्ट पूजासमेत गरिएको थियो।
जनै हराएको बाहुनको निर्देशन हिमाल न्यौपानेले गरेका हुन्। यसमा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मको छायांकन भोलि काभ्रेपलान्चोकको पनौतीबाट सुरु हुनेछ। पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ।
जनै हराएको बाहुनले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोगेका अनपेक्षित घटनाहरू र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा प्रस्तुत गर्नेछ। यसले आमा र छोराबीचको भावनात्मक सम्बन्धलाई पनि चित्रित गर्नेछ।
शुभमुहूर्त पछि मिडियासँग संक्षिप्त कुरा गर्दै अभिनेत्री मिरुनाले भनिन्, “यो टिममा आबद्ध हुन पाउँदा म एकदमै खुसी छु। सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु। यसमा मेरो क्यारेक्टर मेरो लागि विशेष छ।”
असोसियट निर्देशक मनिष राउतले भने, “यो फिल्ममा हामी सबै नेपालीको कथा रहेको छ। यसमा दाजुभाइबीचको सम्बन्ध र आमा-छोरा बीचको सम्बन्धलाई उजागर गरिएको छ।”
अभिनेता सुशांक मैनाली, जो टलकजङ भर्सेज टुल्केको १० वर्षपछि सिनेमामा फर्केका छन्, यस टिममा आबद्ध हुन पाउँदा खुशी व्यक्त गरे।
निर्देशक हिमाल न्यौपानेको यो डेब्यू निर्देशन हो। फिल्मको सहनिर्देशक मनिष राउत हुन्, जो प्रेमगीत ३ का अभिनेता पनि हुन्।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। पेपरक्लिप प्रालिको निर्माण रहेको फिल्मका निर्माता विमल न्यौपाने हुन्।
कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर छन्।
फिल्ममा संगीत थानेश्वर गौतम र एस.डी. योगीको रहनेछ, र छायांकन नवीन गुरुङले गर्नेछन्। लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजरको जिम्मेवारीमा छन्।
फिल्मको छायांकन ४० दिनको छ।