‘जलाकी’ सोनाम र उपासनाको जोडी कसियो, बागलुङबाट छायांकन सुरु भयो ‘जलाकी’ सोनाम र उपासनाको जोडी कसियो, बागलुङबाट छायांकन सुरु भयो

गत असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आएकोहिट सिनेमा ‘खुस्मा’ निर्माण टिमले नयाँ सिनेमा ‘जलाकी’को घोषणा गरेको छ।

अशोक थापा मगरको निर्देशनमा बन्ने यस सिनेमाको टाइटल मोसन पोस्टर शुक्रबार सार्वजनिक गर्दै निर्माण औपचारिक रूपमा घोषणा गरिएको हो।

पोखराको विन्ध्यवासिनी मन्दिरमा शुभ मुहूर्त गरिएको सिनेमाको छायांकन शुक्रबार बागलुङको कालिका भगवती मन्दिरमा सुरु गरिएको छ।

त्रिकोणात्मक प्रेम कथामा आधारित यस सिनेमामा ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। चर्चित गायक सुशान्त केसीको हिट गीत ‘बार्दली’बाट चर्चामा आएकी मोडल आकृति राजभण्डारीको यो डेब्यु सिनेमा हो।

‘जलाकी’ शब्द मगर समुदायको आस्थासँग जोडिएको ढुंगाको स्तम्भलाई जनाउने प्रतीक हो, जसलाई कसैको सम्झना र मायाको प्रतीकको रूपमा लिइन्छ। निर्देशक अशोक थापा मगरका अनुसार सिनेमाको छायांकन तीन चरणमा हुनेछ। रुकुम, म्याग्दी, बागलुङ, पोखरा लगायतका भूभाग र दक्षिण कोरियामा पनि छायांकन हुने बताइएको छ। सिनेमा मगर र गुरुङ समुदायको संस्कृति झल्काउने बताइएको छ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुन लागेको सिनेमाका निर्माता ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।

सिनेमामा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारहरूको अभिनय रहनेछ। अन्य केही कलाकारको छनोट प्रक्रिया जारी रहेको निर्माण टिमले जनाएको छ।

सिनेमाको डिओपी शैलेन्द्र डी. काकी, लाइन प्रोड्युसर राजु रेग्मी मगर, मुख्य सहायक निर्देशक महेश बराल, संगीत एसडी योगी र सरित राईको रहनेछ। गीत लेखन सुरेन्द्र राना र राम अविरल विष्टले गर्नेछन्।

निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको अघिल्लो सिनेमा ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ युट्युबमा पाँच महिनामा १० करोड भ्युज प्राप्त गरी ऐतिहासिक रेकर्ड बनाउने पहिलो नेपाली गीत बनेको थियो।

केहि भन्नु छ?

Copyright © Ramailo6 - All right reserved. Designed by Zookti